ओलीसँग वामदेव गौतम असन्तुष्ट

bamdev-gautam1-650x371काठमाडौं- पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी ओलीतर्फ लागेका उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ । झण्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको छ ।

अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम असन्तुष्ट बनेको उनी निकट स्रोतले जनायो । पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छाडेर मध्यमार्गी जस्तै देखिएका छन् ।

गौतम पक्षमा किरण गुरुङ, रवीन्द्र अधिकारी, सावित्रा भुसाल, यामलाल कँडेल, दलबहादुर राना लगायत छन् ।

गत साता मदन भण्डारी प्रतिष्ठानको ब्यानरमा गरिएको संस्थापन पक्षको भेलामा आफू निकटकालाई नबोलाइएपछि गौतम निकै असन्तुष्ट बनेको जानकारी एक नेताले दिए ।

संस्थापन पक्षकाले आफूलाई बाइपास गरेको गुनासो गर्दै गौतमले माधवकुमार नेपाल पक्षका नेताहरुसँग छलफल सुरु गरेको स्रोतको भनाइ छ ।