लन्डन– बेलायतको परराष्ट्र मन्त्रालयले आफ्ना नागरिकका लागि नेपाल भ्रमण गर्ने सम्बन्धमा जारी गरेको चेतावनी खारेज गरेको छ ।
राजकुमार हृयारीको चैत दोस्रो साता नेपाल भ्रमणको तयारी भइरहेका बेला विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपाल सुरक्षित रहेकाले भ्रमण चेतावनी हटाएको हो । गत बैशाख १२ गतेको महाबिनाशकारी भूकम्प र गत असोजदेखि मधेस अन्दोलन साथै भारतले लगाएको नाकाबन्दीपछिको अवस्था सामान्यतर्फ उन्मुख रहेकाले भ्रमणसम्बन्धि चेतावनी खारेज गरेको जनाएको हो ।
विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मनासलु पदयात्रा र लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमणमा जाँदा भने अझै सावधान रहन आग्रह गरेको छ ।
विदेश मन्त्रालयले यसअघि नेपाल अझैपनि भूकम्पीय उच्च जोखिमको क्षेत्र रहेको, पराकम्पहरु जाने क्रम अझै नरोखिएको तथा बाढि पहिरो र भूक्षयमा नेपालभर जोखिम रहेकाले आफ्ना नागरिकलाई नेपालको भ्रमण नगर्न अनुरोध गरेको थियो ।






