प्रधानमन्त्रीको भ्रमणको दोस्रो दिन के के भयो दिल्लीमा ?

Kp-oli-And-Modi-4-1काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको दोस्रो दिन निकै व्यस्त हुनुभयो । महत्त्वपूर्ण सम्झौता शनिबार नै भएका छन् भने उच्च राजनीतिक भेटघाट पनि सम्पन्न भएका छन् ।

भारतीय राष्ट्रपतिसँग भेट

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।

भ्रमण दलमा सहभागी मन्त्रीगणसहितको सो भेटमा राष्ट्रपति मुखर्जीले आफ्नो मुलुकमा भ्रमण गरेको र आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकामा स्वागत गर्दै आभार प्रकट गर्नुभयो ।

यसैगरी, प्रधानमन्त्री ओलीले उपराष्ट्रपति हमिद अन्सारीसँग ६ मौलाना आजाद सडकस्थित उहाँको निवासमा शिष्टाचार भेट गर्नुभयो ।

नेपाल र भारतबीच सातवटा समझदारीपत्रमा हस्ताक्षर

oli 2नेपाल र भारतबीच भूकम्पपछिको पुनःनिर्माण, नेपालको तराई क्षेत्रमा सडक पूर्वाधार विकास, सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना, पारवहन मार्ग, रेल यातायात, ढल्केबर-मुजफ्फपुर प्रसारण लाइन र प्रबुद्ध समूह स्थापनासहित सातवटा समझदारी एवम् र विनिमयपत्रमा हस्ताक्षर गरी आदानप्रदान भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको राजकीय भ्रमणका क्रममा आज ती सहमति एवम् विनिमयपत्र दुवै मुलुक सम्बद्ध अधिकारीहरुले हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको हो ।

भारत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदानस्वरुप उपलब्ध गराउने रु २५ अर्बको सहायतासम्बन्धी समझदारीपत्रमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा र भारत सरकारका तर्फबाट त्यहाँका विदेश मन्त्री सुष्मा स्वराजले हस्ताक्षर गर्नुभएको छ ।

हैदराबाद हाउसबाट ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको उदघाटन

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको उदघाटन गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले स्वीच दबाएर सो प्रसारण लाइनको उदघाटन गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगम लिमिटेबीच गत फागुन ३ गते ८० मेगावाटको विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री ओली र भारतीय गृह तथा अर्थमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गृहमन्त्री राजनाथ सिंह तथा अर्थमन्त्री अरुण जेट्लीबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली बस्नुभएको भारतीय राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच पुनर्निर्माणबारे छलफल

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमा भेटवार्ता गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच भूकम्पपछिको पुनर्निर्माण र भारतले उपलब्ध गराउँदै आएको सहयोगका विषयमा छलफल हुनाका साथै आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष र विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो ।

गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

Kp-oli-And-Modi-7kp-oli-1प्रधानमन्त्री ओलीले शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्नुभयो ।

भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्र प्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ । भारत स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो ।