लण्डन । बेलायतमा बस्ने १६ वर्ष मुनिका नेपाली बालबालिकाबीचको हाजिरीजवाफ प्रतियोगिता आउंदो आइतबार लण्डनमा आयोजना हुंदैछ ।![cns[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/cns1-300x200.jpg)
साउथ ईस्टस्थित चाल्र्टन नेपाली समाजले आयोजना गर्न लागेको यो प्रतियोगितामा लण्डनका विभिन्न ठाउंबाट ५ समुहले प्रतिस्पर्धा गर्ने भएका छन ।
स्थानीय चाल्र्टन एसेम्बली हलमा दिउंसो १ बजे प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा मुख्यत नेपालसंग सम्बधित रहेका विभिन्न विषयमा प्रश्नहरु सोधिने कार्यक्रमका आयोजक समाजका सचिव टिएन रिजालले जानकारी दिए ।
हरेक प्रतियोगी समुहमा ३ जना सदस्य रहनेछन । उनीहरुले प्रतियोगितामा भाग लिनको लागि समुहका तर्फबाट ५० पाउण्डको प्रवेश शुल्क बुझाउनुपर्नेछ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्रसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले बताएका छन । त्यसबाहेक प्रतियोगीले जवाफ दिन नसकेका प्रश्नको सहि जवाफ दिन सक्ने दर्शकका लागि समेत आकर्षक पुरस्कार रहने बताइएको छ ।
बेलायतमा हुर्किदै गरेका नेपाली बालबालिकाहरुको नेपालसम्बन्धी विविध विषयको ज्ञान र जानकारी बढोस भन्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष रोमनाथ पाण्डेले बताए ।






