गुवाहाटी (भारत)- १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले शनिबार तीन पदक जितेको छ ।
देवीले दिलाइन् नेपाललाई पहिलो पदक
१२औँ दक्षिण एसियाली खेलकुद (साग)मा देवी चौधरीले नेपाललाई पहिलो पदक दिलाउनुभएको छ ।
प्रतियोगिताको दोस्रो दिन भारोत्तोलनको ५३ केजीतर्फ कास्य पदक जित्दै चौधरीले नेपालका लागि पहिलो पदक दिलाएकी हुन् । आज भारतको गुवाहाटीस्थित भोगेश्वरी फुकानानी इन्डोर स्टेडियममा चौधरीले स्न्याचतर्फ ५४ र क्लिन एन्ड जर्कतर्फ ७५ केजी भार उठाउनुभएको थियो ।
कास्य पदक जितेसँगै उहाँ दक्षिण एसियाली खेलकुदको भारोत्तोलनतर्फ पदक दिलाउने पहिलो महिला खेलाडीसमेत बन्न सफल हुनुभएको छ । नेपाल पुलिस क्लबबाट खेल्दै आउनुभएकी चौधरीले स्न्याचमा कुल १२९ केजी भार बहन गर्नुभएको थियो ।
रजत पदक जिते विकासले
भारतको गुवाहाटीमा जारी १२औँ दक्षिण एसियाली खेलकुदमा आज भारोत्तोलन खेलका खेलाडी विकास थापाले नेपालका लागि दोस्रो पदक जितेका छन् ।
बैसट्ठी केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थापाले रजत पदक हात पार्दै नेपाललाई दोस्रो पदकसमेत दिलाएका हुन् ।
गुवाहाटीस्थित भोगेश्वर फुकानी इन्डोर स्टेडियममा भएको प्रतिस्पर्धामा विकासले क्लिन एण्ड जर्कतर्फ १३० केजी र स्न्याचतर्फ ११२ केजीसहित कुल २४२ केजी भार बहन गरेका थिए ।
सरोजले दिलाए नेपाललाई तेस्रो पदक
१२औँ दक्षिण एसियाली खेलकुद (साग)मा सरोज यादवले नेपाललाई तेस्रो पदक दिलाउनुभएको छ ।
भारत्तोलनतर्फको ६५ केजी समूहमा उहाँले आज नेपाललाई कास्य पदक दिलाउनुभएको हो । योसहित नेपाललाई हालसम्म तीन पदक प्राप्त भएको छ ।






