काठमाडौँ- विगत चार महिनाभन्दा बढी समयदेखि ठप्प भएको वीरगञ्ज–रक्सौल नाका सहज बन्दै गएको छ ।
मधेसी मोर्चाको अवरोधका कारण लामो समयदेखि ठप्प भएको रक्सौल सामान्य अवस्थामा सञ्चालन भइरहेको भन्सार विभाग उपमहानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभायो ।
मितेरी पुलमा राखेको पाल हटेको छ भने रक्सौल र वीरगञ्जमा अड्किएका मालबाहक ट्रक आवतजावत हुन थालेका थिए । मोर्चा कार्यकर्ता त्यहाँ बन्द गर्न गए पनि स्थानीयवासीको सहयोगमा अवरोध हटेको हो ।
नेपाल आयल निगमका उपकार्यकारी प्रमुख सुशील भट्टराईका अनुसार नाका खुलेको भए पनि आधिकारिक रुपमा रक्सौल–काठमाडौँ मार्ग चल्ने निगमका ट्याङ्कर आवतजावत भएका छैनन् ।
उहाँले यस नाकामा अड्किएर रहेका ट्याङ्कर भने आवतजावत भएको जानकारी दिँदै आधिकारीक रुपमा यस मार्गमा चल्ने ट्याङ्कर इन्धन उपलब्ध हुने विषयमा सोमबार मात्र थाहा हुने बताउनुभयो ।






