उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा सहिदहरूको सम्झना
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले देशका लागि आफ्नो प्राण आहुति दिने सहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकेमात्रै सहिदप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुने बताएकी छिन्।
शनिवार सहिद दिवसका अबसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले देशमा स्थिरता, शान्ति, विकास, अग्रगमन कायम गर्न सके सहिदप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले सबै नेपाली एकताबद्ध भएर लाग्न जरुरी रहेको उल्लेख गरेकी छिन्।
भण्डारीले संविधानले सबैको अधिकार सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिसकेकाले अब त्यसको सफल र कुशल कार्यान्वयन गरी समृद्धितर्फको यात्रालाई एकता तथा सहमतिसहित अगाडि बढाउनु सबै नेपालीको साझा कर्तव्य र दायित्व भएको वताएकी छिन्।
उनले जारी गरेको सन्देशमा भनिएकोछ,‘प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै बृहत्तर राजनीतिक सहमति र सार्थक प्रयासबाट आर्थिक विकासको एजेन्डातर्फ अगाडि बढ्नु अबको प्राथमिकता हुनुपर्दछ’
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सहिदको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संविधानसभाबाट प्राप्त नयाँ संविधानले संस्थागत गरेको उल्लेख गरेका छन्।
उनले जारी गरेको सन्देशमा भनिएको छ,‘ जुन उद्देश्यका निम्ति बलिदान भएको थियो, त्यसको प्राप्ति र तत्पश्चात् त्यसको स्थायित्वका लागि देशवासी सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदले देखाएको बाटामा अघि बढ्ने प्रण गर्न सबै नेपालीलाई आग्रह गरेका छन्। उनले सहिदको बलिदानको उच्च सम्मान र भावनाको कदर गर्दै उहाँहरुको सपनालाई साकार पार्दै अघि बढ्न सरकार प्रयत्नशील रहँदै आएको जनाएका छन्।
प्रजातन्त्रको स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने सहिद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै एकतन्त्रीय जहानियाँ शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाई प्रजातन्त्रको स्थापनाका लागि अमर सहिदले आफ्नो प्राणको आहुति दिएको स्मरणसमेत गरेका छन्।






