सहिद दिवस मनाइँदै

sahidकाठमाडौं- आज सहिद दिवस देशभर विभिन्न कार्यक्रमका साथ सहिदहरुको सम्मान र सम्झना गरी मनाइँदै छ। जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जिवन त्यागेका सहिदप्रति सम्मान गर्दै देशभर शनिवार सहिद दिवस मनाइँदै आएको छ।
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ। वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूले गरेको योगदानको सम्मान तथा सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। सहिद दिवसको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वीर सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष सहिद दिवस मनाउन थालिएको हो। राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले विक्रम सम्बत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो।

देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवसको रुपमा मनाउन थालिएको हो। सरकारले सहिद दिवसको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिँदै आएको छ।