साउदीमा गतवर्ष २७७ नेपालीको मृत्यु

death bodyसाउदी अरब- पछिल्लो समय नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा दैनिक सरदर एक नेपालीको मृत्यु हुने गरेको छ । रियादस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार साउदीमा दैनिक औसत एक नेपालीको मृत्यु हुने गरेको देखिएको हो ।

दूतावासका अनुसार सन् २०१५ मा वैदेशिक रोजगारीका लागि साउदी अरब आएका २७७ नेपालीले विभिन्न कारणले ज्यान गुमाएका छन् । यसमा प्राकृतिक मृत्यु बढी देखिएकोे छ । दूतावासले दिएको यो तथ्याङ्क अघिल्लो वर्ष २०१४ को तुलनामा ४८ जनाले बढी हो । सन् २०१४ मा २२९ नेपालीले विभिन्न कारणले ज्यान गुमाएका थिए ।

सन् २०१५ मा ज्यान गुमाएकामध्ये सबैभन्दा बढी १४८ जनाको प्राकृतिक मृत्यु भएको थियो । यसमा हृदयाघात, मस्तिष्क पक्षाघात, ओछ्यानमै ज्यान जानेलगायत कारण रहेका छन् ।

यस्तै, सडक दुर्घटनाका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि कम छैन । त्रिहत्तर जनाको सडक दुर्घटनामा परी ज्यान गएको छ भने ३२ को कार्यस्थलमै दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै २१ जनाले आत्महत्या गरेका छन् । तीन नेपालीको विदेशी नागरिकबाट हत्या भएको दूतावासले जनाएको छ ।