काठमाडौँ, २२ असोज । दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट शनिबारसम्म २२ लाख यात्रु बाहिरिएका छन् ।
उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष सरोज सिटौलाले तीन दिन— बिहीबार, शुक्रबार र शनिबार उपत्यका बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रहेको र भोलिदेखि न्यून हुने बताए ।
उनका अनुसार आजमात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए ।
उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङलामु मार्ग र टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतिर गएका हुन् ।
महासचिव सिटौलाले तीन दिनको अवधिमा आजसम्म कुनै अप्रिय घटना नघटेको र विगतका दसैँभन्दा यो पटक यात्रु सहज तरिकाले गन्तव्यमा पुगेको दाबी गरे ।






