फागुन पहिलो साताभित्र प्रधानमन्त्री दिल्ली जाने

KP-Oliकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली फागुनको पहिलो सातासम्म भारत भ्रमणमा जाने गरी सरकारले तयारी थालेको छ ।

प्रधानमन्त्री ओलीले सम्भावित भ्रमणको एजेन्डाबारे तीनजना उपप्रधानमन्त्री र आधा दर्जन सचिवलाई बालुवाटार बोलाएर भारतसँग छलफलको ठोस एजेन्डा तयार गर्न निर्देशन दिएका छन् । बालुवाटार स्रोतका अनुसार ओली ‘चाँडोमा माघको पहिलो साता र ढिलोमा फागुन पहिलो साता’ नयाँदिल्ली जानेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीबीच १६ पुसमा भएको टेलिफोन वार्तापछि भ्रमणको तयारी थालिएको हो । त्यसअघि तराई आन्दोलनका एजेन्डा सम्बोधन गर्न सरकारले ५ पुसमा पारित गरेको संविधान संशोधनसहित तीन महिनामा सीमांकन विवाद टुंग्याउने प्रस्तावलाई भारतले समर्थन गरेको थियो ।

गत महिना उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणका क्रममा सरकारी रोडम्यापबारे भारतीय विदेशमन्त्री सुष्मा स्वराज र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई जानकारी दिएका थिए । त्यही एजेन्डा ५ पुसमा मन्त्रिपरिषद्ले पारित गरेको थियो । लगत्तै ६ पुसमा भारतले विज्ञप्तिमार्फत सरकारी मार्गचित्रको स्वागत गरेको थियो । त्यसपछि रक्सौलबाहेकका नेपाल–भारत व्यापारिक सीमानाका सुचारु भएका छन् ।

मोदीले २४ असोजमा प्रधानमन्त्री भएकै दिन ओलीलाई टेलिफोनबाट भारत भ्रमणको निम्ता दिएका थिए भने विदेश मन्त्रालयले कूटनीतिक च्यानलमार्फत ओलीलाई लिखित निमन्त्रणा पठाइसकेको छ । १६ पुसमा झापाबाट प्रधानमन्त्री ओली र मोदीबीच अंग्रेजी नयाँ वर्षको शुभकामना आदन–प्रदानसँगै नेपालको राजनीतिक परिवेशबारे छलफल भएको थियो । त्यही क्रममा मोदीले नयाँदिल्ली भ्रमणका लागि ओलीलाई आग्रह गरेका थिए ।

भारतबाट फर्केपछि फागुन अन्तिम वा चैत पहिलो साता प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जानेछन् ।