बेलायतका पत्रकारलाई चुनाव लाग्यो, अध्यक्षमा खपांगी र सेनेको चर्चा

journos new

शिव भण्डारी
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको तेस्रो अधिवेसनको निर्वाचन तालिका सार्वजनिक भएसंगै पत्रकारहरुमाझ चुनावी सरगर्मी बढेको छ । आउंदो मार्च ६ तारिख आइतबार हुने अधिवेशनका लागि यहांका पत्रकारहरुले सामाजिक सञ्जालमार्फत आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् ।
यसपटकको निर्वाचनमा हालसम्मको अवस्था अनुसार, अध्यक्षमा हाल वरिष्ठ उपाध्यक्ष रहेका वी नेपाली डटकमका सम्पादक नरेश खपांगीमगर र गोर्खा च्यानलकी सञ्चालिका विमला सेनेबीच प्रतिष्पर्धा हुने देखिएको छ । खपांगीमगर यसअघि कार्यसमितिको महासचिव भइसकेका छन् भने पार्षदमात्र रहेकी सेनेले पहिलोपटक अध्यक्षको आकांक्षा लिएकी हुन् ।

वरिष्ठ उपाध्यक्षमा यसपटक महासचिव श्याम लुईंटेल र उपाध्यक्ष धर्मराज अधिकारी लड्ने निश्चित प्राय छ ।

महासचिवमा ध्रुवराज अर्याल, राजकुमार थापा र मिलन वाग्लेको नाम आएको छ भने सचिवमा लन्डन नेपाल न्यूज डटकमका शिव भण्डारीले आकांक्षा प्रस्तुत गरेका छन् । भण्डारीले एकपटक कार्यसमितिमा रहेर काम गरिसकेको, लन्डन नेपाल न्यूज डटकमको प्रधान सम्पादकको जिम्मेवारी वहन गरिरहेको र नेपाली समुदाय र पत्रकारहरुलाई नजिकबाट नियालिरहेकाले सचिव पद डिजर्भ गर्ने दावी गरेका छन् । वुद्धिजिवी पत्रकार नारायण गाउंलेले नेतृत्व लिन चाहेको अभिव्यक्ति दिएका छन् तर कुन पदमा लड्ने हो त्यो चाहिं स्पष्ट पारेका छैनन् ।

पत्रकारहरुको चुनावी सरगर्मीसंगै यहांका शक्ति केन्द्र समेत चनाखो बनेका बताइन्छ । पेशेवरहरुको चुनाव भएपनि पत्रकारहरुलाई राजनीतिक रंग दिएर पार्टी विशेषसंग जोडिएको कतिपय पत्रकारहरु नै बताउंछन् ।

चुनावी माहोलबारे शाखा अध्यक्ष चिरन शर्मा, सल्लाहकारहरु भगिरथ योगी, नवीन पोखरेल लगायत भने मौन देखिएका छन् । यसपटक विगतकै इतिहास दोहोर्याउंदै चुनाव भन्दा सहमतिमै नेतृत्व चयन गरिनुपर्नेमा उनीहरुको जोड छ ।
शाखाले सल्लाहकारहरु भगिरथ योगी र नवीन पोखरेलसंगै नेपाली टिभीका निर्देशक विजय थापा सम्मिलित निर्वाचन समिति गठन गरेको छ जसमा सोलिसिटर राजु थापालाई कानुनी सल्लाहकार बनाइएको छ । समितिले निर्वाचन तालिका प्रकाशित गरिसकेको छ ।