लन्डन- नेपाल बेलायत सम्बन्धको दुई सय वर्षगाँठको उपलक्ष्यमा आयोजना भएको एक विशेष समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सम्बोधन गरेका छन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री थापाले सौहार्दपूर्ण दुई सय वर्ष पूरा भएकोमा बधाई दिए । थापाले बेलायत नेपालको मुल्य विकास साझेदार रहेको उल्लेख गर्दै नेपालको विकास र समृद्धिमा निरन्तर साथ सहयोग रहने अपेक्षा गरे ।
नेपाल र बेलायत शान्ति र समृद्धिको एउटै यात्रामा रहेको बताउँदै परराष्ट्रमन्त्री थापाले आगामी दिनहरु झन् सुखद हुने विश्वास व्यक्त गरे ।
उक्त समारोहमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर र अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनले पनि सम्वोधन गरेका छन् ।
थापा बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २०० औं वर्षका अवसरमा हुने विशेष समारोहमा भाग लिन लन्डन आएका थिए ।
थापा बुधवार बिहान कतार एयरवेजबाट हिथ्रो विमानस्थलको टर्मिनल फोरमा उत्रँदा उनलाई कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री लगायत कार्यकर्ताले स्वागत गरेका थिए । थापाका साथ परराष्ट्र सहसचिव प्रकाशकुमार सुवेदी, उपसचिव कुमार खरेल र स्वकिय सचिव भरतकुमार रेग्मी पनि छन् ।






