काठमाडौं- कांग्रेस पदाधिकारी बैठकले भूकम्प पुनर्निर्माणसम्बन्धी विधेयक र नेपालको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई एकसाथ अगाडि बढाउने निर्णय गरेको छ ।
तराई मधेसको जारी आन्दोलन तथा अन्य समुदायको मागलाई सम्बोधन गर्न नेतृत्वको अघिल्लो सरकारले संविधान संशोधनसम्बन्धी प्रस्ताव व्यवस्थापिका-संसदमा दर्ता गराएको र भूकम्प पुनर्निर्माणसम्बन्धी विधेयकमा सहमति जुट्न नसक्दा संसदमा पेस हुन सकेको थिएन ।
काठमाडौंमा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्यसमेत सहभागी रहेको सो बैठकले ती दुबै कार्य अगाडि बढाउन सत्ता साझेदार दल तथा मधेसी मोर्चासित शुक्रबार नै संवादसमेत गर्ने निर्णय गरेको पार्टी उपसभापति रामचन्द्र पौडेलले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतको सहभागिता रहेको थियो ।






