काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरीले औषधिको अभावमा जनता मर्ने दिन नआउने बताएका छन् ।
नेपाल औषधि व्यवसायी संघ केन्द्रीय समितिले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री चौधरीले औषधिको अभाव टार्न हरसम्भव प्रयास भइरहेको बताए । ‘बाहिर हल्ला भएजस्तो औषधिको हाहाकार छैन, केही कममात्रै भएको छ,’ उनले भने, ‘नपुगेको ठाउँमा औषधि पुर्याउने दायित्व सरकारको हो ।’
चौधरीले सरकारले औषधि व्यवसायीसहितका सरोकारवालाहरुसँगको समन्वयमा संकट टार्ने जानकारी दिए । उनले व्यवसायीलाई औषधि बजारसम्म पुर्याउन इन्धन उपलब्ध गराउने जानकारी दिए ।
कार्यक्रममा नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले मौज्दात औषधिलाई बिरामीसम्म पुर्याउन भएको कठीनाई चाँडै हल हुने विश्वास दिलाए ।
संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले मुलुकको अप्ठ्यारो अवस्थामा सरकारलाई साथ दिन व्यवसायी तयार रहेको बताए ।
संघका पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले सम्भावित औषधि अभाव टार्न सरकारले समयमै प्रयासहरु सुरु गर्नुपर्नेमा जोड दिए ।






