काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अघोषित नाकाबन्दीले नेपालमा उत्पन्न गरेको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरेका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्याबारे सम्मेलनमा जानकारी गराए ।
कार्यक्रमका सहभागीलाई नेपालको संविधानको अङ्ग्रेजी संस्करण पढ्नका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यो संविधानले लोकतान्त्रिक मूल्य, मान्यता र जनताको अधिकारको सुनिश्चितता गरेको चर्चा गरे ।
संविधानसभाको ९२ प्रतिशतभन्दा बढी सभासद्को सहभागितामा नेपालको संविधान जारी भएकाबारे कार्यक्रमका सहभागीलाई जानकारी गराउँदै प्रधानमन्त्रीले संविधानले सबै वर्ग, जाति, क्षेत्र, लिङ्गको अधिकार सुनिश्चित गरेको बताए ।
प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरेर नेपालको दक्षिणी सीमा क्षेत्रमा केही समस्या उत्पन्न गराइएको बताउँदै संविधानमा केही अपुग भए त्यो थप्न आफू तयार रहेको स्पष्ट पारे ।






