नेपाल चासोबारे सरकारले भारतको मनस्थिति बुझ्दै

Kamal-Thapa-RPPकाठमाडौं- मधेस मामिलालाई लिएर भारत नाकाबन्दीको अवस्थासम्म पुगेपछि सरकारले भारतीय राजदूतसँग छलफल गरेको छ ।

प्रमुख दलको आग्रहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार भारतीय राजदूत रणजित रायलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । छलफल पारवहनमा भइरहेको अवरोध र त्यसबाट उत्पन्न मानवीय संकटबारे भनिए पनि उसका चासोबारे छलफल भएको स्रोतले जनाएको छ ।

त्यस क्रममा पारवहन सहजताबारे जिज्ञासा राख्दै थापाले नेपालको मानवीय संकट समाधानको पहल गर्न आग्रह गरेको परराष्ट्र अधिकारीले जानकारी दिए । भारतले आफ्नातर्फबाट पारवहन सहज बनाइदिए नेपालतर्फ समस्या नरहेको जानकारी उपप्रधानमन्त्री थापाले भारतीय राजदूतलाई गराएका थिए ।

दुई महिनादेखि भारतले गरेको नाकाबन्दीका कारण मानवीय संकट सुरु भइसकेको छ । यस्तै, तराई केन्द्रित दलहरू भारत आफ्नो साथमा रहेको बुझाइका साथ उग्र बन्दै गएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगको भेटमा भारतले स्पष्ट कुरा नगरेको बताएपछि राजदूतसँग छलफल सुरु गरिएको हो ।