काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आन्तरिक विवाद चलिरहेको बेला सो पार्टीबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह गठन गरेका ह्रदयश त्रिपाठीले काठमाडौंमा समूहको भेला बोलाएका छन् ।
मंसिर २८ गते हुने सो भेलाको तयारी भइरहेको समूहका संयोजक ह्रदयश त्रिपाठीले जानकारी दिए । भेलामा देशैभरिका सिमित व्यक्तिको मात्र उपस्थिति रहने बताउँदै उनले यो भेलामा चुनावदेखि हालसम्म देशमा भएका घटनाक्रमको बारेमा छलफल हुने बताए ।
राजपा नेपाल गठनमा विशेष भूमिका खेलेका त्रिपाठी सो पार्टी छाडेर समूह गठन गरी तत्कालिन एमालेको सूर्य चिन्हबाट चुनाव लडेका थिए । त्यसमा नवलपरासीबाट त्रिपाठी, कपिलवस्तुबाट वृजेष गुप्ता प्रतिनिधिसभा र नवलपरासीबाट अजय शाही र कपिलवस्तुबाट धर्मबहादुर लाल श्रीवास्तव प्रदेशसभामा जितेका हुन् ।
समूहका नेता ईश्वर दयाल मिश्रले भने, ‘यो भेलामा समूह बाहिरबाट पनि सहभागी हुन्छन् । समसामयिक विषयमा छलफल हुने भएकाले यसमा बौद्धिक छलफल हुने भएकाले बाहिरका व्यक्तिलाई पनि बोलाउने कुराकानी भएको छ ।’
उनले समूहप्रति थुप्रै नेता तथा कार्यकर्ताहरुको आकर्षण छ । राजपा नेपालदेखि फोरम नेपाल, काँग्रेस र नेकपाबाट पनि समूहमा आउन तयार रहेको उनले दावी गरे । उनले भने, ‘राजपा नेपाल र फोरम नेपालबाट सबभन्दा बढी आकर्षण हाम्रो समूहप्रति रहेको छ ।’
यसअघि एउटा भेला नवलपरासीमा पनि सम्पन्न भएको छ । त्यो भेला जिल्लास्तरीय भेला थियो । यो भेला राष्ट्रिय स्तरको हो । तर त्रिपाठीले यसलाई राष्ट्रिय भेला भनेको छैन । उनले भने, ‘यो एउटा भेला मात्र हो, यसमा छलफल हुन्छ, त्यसपछि अगाडि के गर्ने कुरा हुन्छ ।’
राजपा नेपालमा विवाद शुरु भएपछि समूहले गर्न लागेको भेलाले ठूलो अर्थ राख्छ । सो समूहमा अधिकाँश राजपा नेपालबाट गएका नेताहरु छन् । यदि राजपा नेपाल विभाजन भयो र तमलोपा पुनर्गठन भयो भने समूह त्यसमा मिसिन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।
महन्थ ठाकुरलाई राजपा नेपालको संयोजकबाट हटाएको भोलिपल्ट त्रिपाठीले उनलाई भेटेका थिए । तर ईश्वर दयाल मिश्र भन्छन्, ‘राजपा नेपालको विवादसँग आफ्नो यो भेलाको कुनै कनेक्सन छैन । राजपा नेपालमा विवाद आउनुभन्दा पहिले नै यो कार्यक्रम तय भएको थियो ।’ उनले त्रिपाठी र ठाकुरबीच कुनै भेटघाटनै नभएको पनि दावी गरे ।






