काठमाडौँ- पाकिस्तानका अमर अजिजद्वारा निर्देशित ‘अ वाल्नट ट्री’ वृत्तचित्र उत्कृष्ट हुँदै फिल्म साउथ एसिया–२०१५ सकिएको छ ।
चार दिनदेखि चलिरहेको सो महोत्सवमा उक्त वृत्तचित्रले दुई हजार डलर जितेको छ । यसैगरी, महोत्सवमा उत्कृष्ट दोस्रो हुँदै भारतीय निर्देशक इफात फतिमाद्वारा निर्देशित ‘ब्लड लिभ्स इट्स टे«ल’ले एक हजार डलर प्राप्त गरेको र म्यान्मारका क्याव म्यो ल्वीनद्वारा निर्देशित फिल्म ‘टायर्स’ले पनि उत्कृष्ट नयाँ चलचित्रको रुपमा एक हजार डलर जितेको छ ।
महोत्सवमा युनिसेफ अवार्डद्वारा नेपाली निर्देशक रम्यता लिम्बूद्वारा निर्देशित ‘ड्रयिङ द टाइगर’ चलचित्र सम्मानित भएको छ ।
सो महोत्सवमा ४३ वृत्तचित्र देखाइएको थियो भने नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र मलेसियाका चलचित्र प्रदर्शनी गरिएका थिए ।
साउथ एसिया ट्रस्टको आयोजनामा भएको सो महोत्सवमा दक्षिण एसियाली मुलुकले निर्माण गरेका ‘नन् फिक्सन’ फिल्म प्रदर्शन गरिएका थिए । गत बिहीबारदेखि सुरु भएको सो महोत्सव सफल भएको आयोजकले जनाएका छन् ।
कुमारी हल, रसियन कल्चर सेन्टर र यलमाया केन्द्रमा दैनिक प्रदर्शन गरिएका वृत्तचित्रले दर्शकको मन जितेका थिए । फिल्म प्रदर्शनीका क्रममा धेरै विदेशी फिल्मका निर्देशक स्वयम् महोत्सवमा सहभागी भएका थिए ।






