क्यामरुन र मोदीले भने, ‘नाकाबन्दी बारे थाहा छैन’

लण्डन ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्ति नेपालको विषयमा विशेष चर्चा भएको छ । तर, भारतीय नाकाबन्दीका विषयमा विज्ञप्ति मौन छ । विज्ञप्तिमा नेपालको प्रशंगमा चर्चा गरिएको भए पनि नाकाबन्दी भन्ने शब्द कतै लेखिएको छैन । भारतले नेपालमा दुई महिना अघिदेखि नाकाबन्दी गरेको विषयमा संसारभर विरोध भइरहेका बेला क्यामरुन र मोदीले जारी गरेको विज्ञप्तिमा नाकाबन्दीले कुनै ठाउँ पाएन ।

त्यत्तिमात्र होइन, बिहिबार तीन दिने बेलायत भ्रमणका लागि लण्डन  आएकै बेला मोदी र क्यामरुनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नेपालको संविधान दीगो र समावेशी नभएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा दीगो र समावेशी रुपमा संवैधानिक व्यवस्थापन होस् । जुन संवैधानिक व्यवस्थाले राजनीतिक स्थिरता र आर्थिक वृद्धी प्रवद्र्धन गरोस् ।’

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो रुची अनुसार बेलायतका प्रधानमन्त्रीलाई नेपालको बारे गलत जानकारी दिएको विज्ञप्तिबाट प्रष्ट भएको छ । संविधानसभाको करिब ९५ प्रतिशतको मतबाट पारित भएको संविधान समावेशी नभएको भन्ने अर्थ लगाउदै मोदीले क्यामरुनलाई विश्वस्त गराएको विज्ञप्तिमा प्रष्ट देख्न सकिन्छ ।

संयुक्त राष्ट्र संघले समेत नेपालमाथि भारतले गरेको नाकाबन्दी अमानवीय भएको बताइरहेका बेला क्यामरुनले भने मोदीसँग संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नाकाबन्दी बारे एक शब्द समेत उल्लेख नगरेपछि नेपाली समुदाय आश्चर्यमा परेका छन् ।

नेपालीले मोदी विरुद्ध तीन घन्टा प्रदर्शन गरेर नेपाालमा भारतले गरेको नाकाबन्दी बारे क्यामरुनलाई जानकारी गराएका थिए । तर, संयुक्त विज्ञप्तिमा क्यामरुनले नाकाबन्दीका विषयमा अनविज्ञता प्रकट गरेपछि बेलायतमा रहेका नेपाली समेत आश्चर्यमा परेका छन् ।