काठमाडौं २३ कात्तिक । नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य बढाएपछि आन्तरिक सेवाको हवाई भाडादर पनि बढेको छ । नयाँ भाडादर भोलि मंगलबारबाटै लागू हुनेछ ।
भारतको अघोषित नाकाबन्दीका कारण एयर लिफ्ट गरेर हवाइ इन्धन ल्याउनु परेको भन्दै आयल निगमले सोमबार इन्धनको मूल्य बढाएको थियो । लगतै वायुसेवा कम्पनीले पनि भाडा बढाउने निर्णय गरेका छन् ।
निगमले प्रतिलिटर ११८ रुपैयाँमा बिक्री गर्दै आएको हवाई इन्धनको मूल्य दोब्बर अर्थात २३२ रुपैयाँ ७८ पैसा पुर्याएको छ । इन्धनको मूल्य बढेलगत्तै बसेको वायुसेवा सञ्चालक संघको बैठकले हवाई भाडा पनि बढाउन निर्णय गरेको सिम्रिक एयरका बजार प्रबन्धक प्रज्वल थापाले अनलाइनखबरलाई बताए ।
प्रमुख गन्तव्यमा बढेको भाडादर
| गन्तव्य (काठमाडौंबाट) | पुरानो भाडादर | बढेको भाडादर |
|---|---|---|
| पोखरा | ४३९० | ६२९० |
| भैरहवा | ५६९० | ७८६० |
| भरतपुर | ३३७० | ४६५० |
| विराटनगर | ६४९५ | ८९५५ |
| जनकपुर | ३८७५ | ५४०५ |
| सिमरा | २६६५ | ३९४५ |
| धनगढी | १०८२५ | १५५९५ |
| नेपालगञ्ज | ८१०० | ११६९० |
| भद्रपुर | ७४८० | १०८७० |
| तुम्लिङटार | ५१७५ | ७५५० |
| लुक्ला | १५९०० | १७८०० |
| पोखरा-जोमसोम | – | – |
| माउन्टेन फ्लाइट | ९७२५ | १४०३५ |
विमान कम्पनीहरुले टिकटको मूल्य अन्तरगत उठाइने इन्धन सेवा शुल्क दोब्बर बनाएका छन् भने यात्रुभाडा शुल्क र यात्रुसेवा शुल्क यथावत नै राखेको बताएका छन् । यसले समग्रमा हवाइ भाडादार ३० प्रतिशतको हाराहारीमा बढ्नेछ ।
‘हवाई भाडा बढ्न जाँदा यात्रु प्रत्यक्ष मारमा परेका छन् भने वायुसेवा सञ्चालक दोस्रो मारमा परेका छन’ थापाले भने- ‘अहिले बस चलेका छैनन्, यात्रुहरु जति पनि तिरेर यात्रा गर्न तयार छन्, भोलि धेरै बसहरु चल्न थाले भने महंगो हवाई यात्रा गर्ने कम हुन्छन् ।’
आयल निगमले भने हवाई इन्धन पुनः सडक मार्गबाटै आउन सुरु भएपछि पुरानै मूल्य कायम हुने बताएको छ ।







