काठमाण्डौ २४ कार्तिक । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव जटिल बन्दै गएपछि सरकारले विश्वका अन्य मुलुकबाट इन्धन भित्र्याउन सकिने सम्भावनाका विषयमा कूटनीतिक संवाद थालेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
परराष्ट्र मन्त्रालयले बंगलादेश, रूस र साउदी अरेबियाका काठमाडौंस्थित राजदूत एवं कूटनीतिक प्रतिनिधिसँग यसबारे परामर्श गरेको हो।तत्कालीन इन्धन संकट टार्न कूटनीतिक तहमा छलफल भए पनि ठोस निष्कर्ष भने निस्कने नसकेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए।
‘भारत र चीनबाहेक अन्य मुलुकबाट दीर्घकालीनरूपमा इन्धन ल्याउन अहिलेकै पूर्वाधारले सम्भव छैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘इन्धन संकट टार्न के गर्न सकिन्छ भन्ने हिसाबमा कूटनीतिक तहमा कुराकानी भएको हो।’
परराष्ट्रका अधिकारीले पेट्रोल, ग्यास र हवाई इन्धन विमानबाट आयात गर्ने विषयमा कूटनीतिक प्रतिनिधिसँग राय मागेका थिए। बंगलादेशबाट पेट्रोल र हवाई इन्धन आयात गर्न सकिनेबारे सकारात्मक कुरा भएको ती अधिकारीले बताए।






