बलिउड अभिनेत्री एन्जेलिना जोली अभिनय मात्र होइन, सामाजिक अभियानका कारण पनि चर्चित छिन् । युएनएचसिआरको दूतदेखि लिएर उनले वन्यजन्तु संरक्षणमा गरेको योगदानसम्मको बारम्बार चर्चा हुन्छ । उनी जोली–पिट फाउन्डेसन नामक संस्था नै दर्ता गरेर समाजसेवामा पनि लागेकी छिन् । हलिउडकी सर्वाधिक महँगामध्येकी एक एन्जेलिनाले आफ्नो आम्दानीको एकतिहाइ सधैँ जोली–पिट फाउन्डेसनलाई दिन्छिन् । जोलीले द्वन्द्वग्रस्त देशका चार बालबालिका पनि ‘एडप्ट’ गरेकी छिन् । अधिकांश बालबालिका अहिले पनि ठूलो भएपछि के बन्ने भन्ने प्रश्नमा ‘डाक्टर’, ‘इन्जिनियर’, ‘बिजनेसम्यान’, ‘कलाकार’ बन्नेलगायत जवाफ दिन्छन् । तर, एन्जेलिनाले कहिल्यै पनि यस्तो भनिनन् । उनी ठूलो भएपछि अन्तिम संस्कार निर्देशक बन्न चाहन्थिन् । ‘मेरो एउटै चाहना अन्तिम संस्कारमा निर्देशन गर्नु थियो,’ उनले केही समयअघि एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई अरू केही बन्न मन थिएन । म दिनरात अन्तिम संस्कारमा मानिसलाई यसो गर उसो गर भनिरहेको सोच्थेँ ।’ तर, बिस्तारै एन्जेलिनाका रुचि फेरिँदै गए । उनी ट्याटुप्रति आकर्षित हुन थालिन् । अहिले उनको शरीरमा १४ वटा ट्याटु छन् । सबैभन्दा पहिले उनले बायाँ हातमा ट्याटु खोपाएकी थिइन् । त्यसमा लेखिएको छ, ‘पिजँडामा थुनिएकाहरूका लागि मनदेखि एउटा प्रार्थना ।’ यो ट्याटु उनले आमासँग गएर खोपाएकी थिइन् । यति मात्र होइन, एन्जेलिनाका अरू रुचि पनि अचम्म खालका छन् । उनी विभिन्न प्रकारका चक्कु बटुल्न रुचाउँछिन् । र, उनीसँग दर्जनौँ किताबको संग्रह पनि छ । ती सबै पहिलो ‘इडिसन’का किताब हुन् । उनले आफ्नो ‘लाइब्रेरी’मा पहिलो इडिसनका किताब मात्र राखेकी छिन् । एन्जेलिनाको अर्को अपत्यारिलो ‘हबी’ पनि छ । प्राय: युवती सर्प, किरासँग डराउँछन् । तर, एन्जेलिना घरपालुवा जनवारका रूपमा सर्प पाल्न रुचाउँछिन् । उनीसँग छेपारो, सर्प र मुसा छन् । यी तिनैलाई उनले नाम पनि दिएकी छिन् । उनले सर्पको नाम ह्यारी डिन स्टान्टोन, छेपारोको नाम भ्लादिमिर र मुसाको नाम ह्यारी राखेकी छिन् ।
मुसा, सर्प र छेपारो पाल्ने बलिउड अभिनेत्री एन्जेलिना






