कांग्रेस १३ औं महाधिवेशन : फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा

nepali-congress-inagural-ceremony-of-12th-general-convention-2काठमाडौं,  २० असोज । नेपाली कांग्रेसले १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको अधिवेशनको गाउँ, नगर, निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशनको मितिसहित केन्द्रीय अधिवेशनको मिति र स्थान तय गरेको हो।

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार, गाउँ र नगरको अधिवेशन माघ १५ गते, निर्वाचन क्षेत्रमा माघ २२ गते र जिल्ला समितिको अधिवेशन माघ २५ गतेका लागि तय गरिएको छ।

त्यसपछि केन्द्रीय अधिवेशनका लागि फागुनको २० गतेदखि २३ गतेसम्मको समय तोकिएको छ।

पार्टीको विधान अनुसार, प्रत्येक चार चार वर्षमा पार्टी अधिवेशन गर्नुपर्ने व्यवस्था भएपनि तोकिएको अवधिमा अधिवेशन नगरेको पार्टी नेतृत्वले विधान र दल सम्बन्धी ऐनका आधारमा एक वर्ष थप गर्न पाउने व्यवस्था थियो। तर थपिएको एक वर्षको अवधिमा पनि समयमा अधिवेशनको तयारी नगरी समय गुजार्दै आएको पार्टी नेतृत्वले पछिल्लो समयमा संविधान निर्माणको व्यस्तता देखाउदै असोज २ देखि ५ गतेको मिति पनि गुजारेको थियो।

पार्टीकेा अधिवेशन विधान र ऐन अनुसार हुन नसकेपछि पार्टीको बैधानिकतामाथि प्रश्न उठ्न सक्ने खतरालाई पन्छाउन कांग्रेसको नेतृत्वले एमाले र एमाओवादीसँग आग्रह गरी नयाँ संविधानमा विशेष परिस्थितिमा पाँच वर्षभित्र अधिवेशन हुन नसके थप ६ महिनाभित्र गर्न सक्ने व्यवस्था राखेका थिए।