कांग्रेसको जिल्ला अधिवेशन आज हुँदै, देशैभर कडा प्रतिस्पर्धा

Congress-flag1काठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत आज देशभर जिल्ला अधिवेशन गरिँदै छ ।

आगामी चार वर्षका लागि पार्टीको जिल्ला नेतृत्व चयन गरिने यस अधिवेशनमा आफूअनुकूलको नेतृत्व चुन्न सबैजसो जिल्लामा नेता–कार्यकर्ता जुटेका छन् ।
आज काठमाडौंसहित ६५ जिल्लामा नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने छ । कतिपय जिल्लामा आजै परिणाम आउने छ भने कतिपयमा भोलि निर्वाचन तय गरिएको छ । काठमाडौंमा सभापति सुशील कोइरालाले उद्‍घाटन गरेर अधिवेशनको कार्यक्रम सुरु हुनेछ ।

गाउँ र नगरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले निर्वाचन क्षेत्रका आधारमा आज सभापतिसहित १० देखि ५० जनासम्मको जिल्ला कार्यसमिति चयन गर्ने छन् ।

आन्तरिक विवाद र केही अरु समस्याका कारण क्षेत्रीय, गाउँ र नगर अधिवेशन नभएका धनुषा, पर्सा, सर्लाही, सिरहा, सप्तरी, भक्तपुर, सोलुखुम्बुसहित जिल्लामा भने आज अधिवेशन हुने छैन ।

सबैजसो जिल्लामा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच प्रतिष्पर्धा हुनेछ । दुई कार्यकाल उम्मेदवार हुन नपाउने विधानको व्यवस्था बमोजिम १८ जिल्लामा भने पुराना सभापतिले प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।

ती जिल्लामा नयाँ नेतृत्व आउने निश्चित छ । गाउँ, नगर र क्षेत्रमा पनि दुई पक्षबीच विभाजित भएर अधिवेशन भएका थिए । केन्द्रीय महाधिवेशन भने फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुने छ ।