सरकारको नेतृत्व परिवर्तन तत्काल असम्भव : एमाले महासचिव पोखरेल

ISHWAR-POKHRELपोखरा- नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व परिवर्तन तत्काललाई असम्भव देखिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले नेतृत्व परिवर्तन कसैले सोचेर र चाहँदैमा हुन सक्दैन, प्रमुख पार्टी एक ठाउँमा बसेर गर्ने निर्णयबाट मात्रै नेतृत्व परिवर्तन हुन सक्ने टिप्पणी गर्नुभयो ।

प्रमुख राजनीतिक दलबीच भएको भद्र सहमति तोडेर अगाडि बढेको कारणले नै नेपाली कांग्रेस सत्ताबाहिर रहन गएको धारणा राख्दै उहाँले कांग्रेसको १३ महाधिवेशन सम्पन्न भएपछि कांग्रेस पनि यही सरकारमा सामेल हुनसक्ने विचार व्यक्त गर्नुभयो ।

भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउन एमाले नेतृत्वको सरकार प्रयासरत रहेको धारणा राख्दै महासचिव पोखरेलले कसैलाई गाली गरेर वा लम्पसार परेर होइन, सिधा वार्ता र छलफल गरेर सबै मुद्दा सम्बोधन गर्न सकिने र सम्बन्ध सुमधुर बनाउन सकिने बताउनुभयो ।