प्रधानमन्त्री बसेको होटलमा रकेट आक्रमण

प्रधानमन्त्री सकुशल, कैयौँ मारिएको आशङ्का

  यमन :  यमनको दक्षिणी सहर आदेनमा रहेको एक होटलमा बसेका यमनी प्रधानमन्त्रीलाई लक्ष्यगरी मङ्गलबार रकेट आक्रमण गरिएको समाचार छ ।
सो आक्रमणबाट प्रधानमन्त्री खालिद बहाभने सकुशल रहनुभएको बताइएको छ । त्यसमा परी कैयौँ व्यक्ति मारिएको आशङ्का गरिएको छ ।
सो होटलमा भएको आक्रमणमा परी केही व्यक्ति मारिएको र अरु केही घाइते भएको प्राप्त समाचारमा जनाइएको छ ।
प्रत्यक्षदर्शीहरुले सो आक्रमण अत्यन्तै शक्तिशाली भएको भन्दै यसबाट मारिएका व्यक्तिको शव होटलमा देखिएको बताएका छन् ।
तर प्रहरीले भने सो होटललाई सुरक्षा घेरामा राखेर अनुसन्धान थालिएको र मारिने र घाइते हुने व्यक्तिको अवस्थाको बारेमा हालसम्म पूर्ण जानकारी नआएको बताएको छ ।
सुरक्षा अधिकारीहरुले उक्त भवनमा तीनवटा शक्तिशाली रकेट हमला भएको जानकारी दिएका छन् । यसको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।
केही दिनयतादेखि प्रधानमन्त्री बहा र उनका केही मन्त्रीहरु यमनको सो सहरमा बसेका छन् । त्यहाँ जारी रहेको हुथी विद्रोहीहरुको आक्रमणबाट तुलनात्मक रुपमा सो सहरलाई सुरक्षित ठानेर उनीहरुलाई त्यहाँ राखिएको बताइएको छ ।
यमनमा पछिल्लो समयमा हुथी विद्रोहीहरुको विद्रोहका कारण समस्या उत्पन्न भएको छ । सो विद्रोहपछि यमनी राष्ट्रपति नै भागेर साउदी अरेबिया पुगेका थिए ।
तर अहिले भने उनि  स्वदेश फर्किसकेका छन् ।  हाल उक्त विद्रोह केही मत्थर भएको भन्दै साउदी अरेबियाको नेतृत्वको सैनिक कारबाही पनि रोकिएको छ ।