काठमाण्डाै, १९ असोज । संविधानको विरोधमा आन्दोलनरत मधेसी मोर्चा र प्रमुख तीन दलद्वारा गठित वार्टा टोलीबीच मंगलबारदेखि औपचारिक वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित स्रसद– सचिवालयमा भएको वार्तामा मोर्चाले सरकारी पक्षद्वारा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ, घाइतेको उपचार र सेना फिर्ताको प्रतिबद्धता पुरा नभएको भन्दै राजनीतिक वियषमा कुरा गर्नै अस्विकार गरेको छ ।
मोर्चाले वार्ताको वातावरण तयार नभएको बताएपछि बुधबार फेरि छलफल गर्ने गरी उठेको वनमन्त्रीसमेत रहेका वार्ता टोली सदस्य महेश आचार्यले जानकारी दिए ।
मोर्चाका तर्फबाट वार्तामा सहभागी सदभावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णले सरकारी टोली बिनातयारी आएकाले वार्तामा ठोस कुराकानी नभएको बताए ।
वार्तामा तीन दलका तर्फबाट कांग्रेसका आचार्य, एमालेका अग्नि खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ तथा मोर्चाका तर्फबाट कर्ण, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका रामनरेश राय सहभागी थिए ।






