काठमाडौ १७ असोज । मोफसलको मोरङ फुटबल क्लवलाई फराकिलो अन्तरमा हराउँदै बिभागीय टोली नेपाल आर्मी राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा आर्मीले मोरङ फुटबल क्लवलाई ७–० को फराकिलो अन्तरले हराएको हो।
आर्मीलाई जिताउन नवयुग श्रेष्ठले ह्याट्रिक पुरा गरे। यस्तै भरत खवासले २ तथा टंक बस्नेत र टेकबहादुर बुढाथोकीले एक-एक गोल गरेका थिए। आजको जितसँगै आर्मीको १३ खेलबाट २४ अंक बटुल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। गोल अन्तरको आधारमा केहि छिनका लागि भएपनि आर्मी शीर्ष स्थानमा उक्लिएको हो।
दोस्रो स्थानमा रहेको झापाको पनि समान १३ खेलबाट २४ अंक नै छ। यस्तै १२ खेल खेलेको थ्रि स्टार पनि २४ अंकसहित लिगको तेश्रो स्थानमा छ। आजै थ्री स्टार क्लवले दोश्रो खेलमा लुम्बिनी फुटबल क्लवसँग प्रतिस्पर्धा गर्दै छ। १३ खेलबाट ८ अंक बटुलेको लुम्बिनी पुछारबाट दोश्रोमा छ। भने आज आर्मिसँग पराजित मोरङ पुछारमा रहेको छ।






