एनआरएनए अस्ट्रेलियाले च्यारिटी नाईट कार्यक्रम गर्दै

 सिड्नी । गैर आवासीय नेपाली सघं एनआरएनए अस्ट्रेलियाले च्यारिटी नाईट कार्यक्रम गर्ने भएको छ । शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्धेश्य राखेर १७ जुन २०२३ ईन्द्रेणी फंक्सन सेन्टरमा च्यारिटी नाईट कार्यक्रम आयोजना गरिएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले जानकारी दिए ।
बेलुकी ५ः३० बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली सांसद देखि कलाकारहरुको बाक्लो उपस्थिति रहने उनले बताए । कार्यक्रममा जुम्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही प्रमुख वक्ताको रुपमा उपस्थित हुँदैछन् । उनले नेपालको समसामयिक राजनैतिक अवस्थाको बारेमा विचार व्यक्त गर्ने बताईएको छ । त्यस्तै नेपालकी चर्चित नायिका करिश्मा मानन्धर समेत कार्यक्रममा सहभागी हुँदैछिन् ।
अभिनेत्री सगैं पछिल्लो समय अध्ययनका लागि उमेरले नछेक्ने उदाहरण बनेकी मानन्धरलाई शैक्षिक क्षेत्रमा प्रेरणादायी पात्रको रुपमा लिईएको गुरुङले बताए ।
यसबाहेक कार्यक्रममा एनआरएनएकी पहिलो महिला अध्यक्ष रविना थापाको समेत उपस्थिति हुनेछ । त्यस्तै गायिका एवम् सर्जक डा. तिर्सला गुरुङ, कलाकार एवम् नेपाल आईडल सिजन ४ का टप ८ प्रतिष्प्रधी अदेश पौड्याल र नेपाल आईडलकी टप ८ फाईनलिष्ट सन्ध्या जोशीले समेत आफ्नो प्रस्तुती दिनेछन् ।
मनोरञ्जनसगैं सामाजिक र शैक्षिक क्षेत्रको सहयोगका लागि आयोजना गरिएको कार्यक्रममा उपस्थितिका लागि अध्यक्ष गुरुङले सबैसगं अनुरोध गरेका छन् । कार्यक्रमलाई अस्ट्रेलिया स्थित दर्जनौँ व्यवसायिक सघंसंस्थाले प्रायोजन गरेका छन् ।