काठमाडौं, ७ जेष्ठ । रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएपछि राजस्थान रोयल्स भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्ले अफबाट बाहिरिएको छ । बुधवार भएको खेलमा बैंग्लोरले राजस्थानलाई ७१ रनले हरायो । पुनेमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैंलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउंदै १ सय ८० रन बनायो ।
बैंग्लोरका लागि एबि डे भिलायर्सले सर्वाधिक ६६ रन बनाए भने मन्दीप सिंहले अविजित ५४ रनको पारी खेले । बलिङतर्फ राजस्थानका धवल कुलकर्नीले २ विकेट लिए । जवाफमा १ सय ८१ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लिएको राजस्थान १९ ओभरमा १ सय ९ रनमै समेटियो ।
राजस्तानका लागि अजिन्क्या रहानेले ४२ रन बनाउनुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । हारसँगै राजस्थान रोयल्सको फाइनल पुग्ने सपना चकनाचुर भएको छ । विजयी टोली बैंग्लोरले अब फाइनल प्रवेशका लागि चेन्नाई सुपर किंग्ससँग प्रतिष्पर्धा गर्नेछ । पहिलो छनौट खेलमा चेन्नाइलाई हराँउदै मुम्बई इण्डियन्स फाइनलमा प्रवेश गरिसकेको छ ।
राजस्थान आइपिएल क्रिकेटको प्लेअफबाट बाहिरियो






