काठमाडौं, १७ असोज । प्रेममा पागल भएपछि मान्छेले केसम्म गर्दोरहेछ भन्ने वैतडी देउलेख ४ का २४ वर्षीय भूपेन्द्र कार्कीले बिहीबार चरितार्थ गरेका छन् । प्रेमिकाले चार वर्षदेखिको प्रेममा धोका दिएको भन्दै उनले घरमै पुगेर गोली हाने तर पेस्तोलले उनलाई धोका दियो ।लगत्तै खुकरी हान्ने प्रयास गरे तर समयमै प्रहरी पुगेकाले कार्की फत्राउ परे, युवतीको ज्यान जोगियो । प्रहरीका अनुसार बिहीबार बेलुका बानेश्वर आलोकनगरस्थित एक घरमा भएको नाटकीय घटना झन्डै अपराधमा परिणत भयो ।
कार्की त्यस घरका सदस्यसँग पूर्वपरिचित थिए । उनले त्यहाँ पुग्नासाथ गोजीबाट पेस्तोल निकालेर युवतीलाई ताक्दै ट्रिगर दबाए । पेस्तोलको पिनले छोएपनि प्राविधिक समस्याले गोलि चलेन । घरपरिवारका सदस्यले कन्ट्रोललाइ खबर गरेपछि प्रहरी समयमै पुगेको थियो ।






