मिर्गौला पीडित व्यक्तिलाई आर्थिक सहयोग

गुल्मी, १ साउन । गुल्मी नेटा गाविस-७ निवासी ३३ वर्षीय गोपाल दमाईंको विगत चार वर्षदेखि कतारमा रोजागारीका सिलसिलामा दुवै मिर्गौला फेल भएका थिए । हाल मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत दमाईंका लागि जापान नेपाल सेवा समिति जापानका प्रतिनिधि सोही गाउँका धनिश्वर अर्याल र नारायण घिमिरेको पहलमा नगद रु ३१ हजार यस्तै सोही गाविसका अर्का व्यक्ति हाल रोजगारीको लागि अस्ट्रेलियामा कार्यरत प्रकाश अर्यालले पनि नगद रु ३० हजार रकम गरी कुल रु ६१ हजार सङ्कलित रकम बैंकमार्फत पीडित गोपालको उपचारका लागि काठमाडौँ पठाइएको वरिष्ठ समाजसेवी तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा नेटाका सभापति रामराज घिमिरेले जानकारी दिनुभयो ।
पीडित गोपालले आफ्नो आर्थिक अवस्था कमजोर भएकाले जीवन रक्षाका लागि सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै थप जीवन रक्षाका लागि उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।