नेपालले अङ्ग्रेज सेनामाथि विजय हासिल गरेको खुसियालीमा भगवती जात्रा

पाल्पा, भदौ २० । नेपालले अङ्ग्रेज सेनामाथि विजय हासिल गरेको खुसियालीमा आज पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा मनाइएको छ । पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रुपमा विजयोत्सव मनाउने परम्परा चल्दै आएको छ ।

बुटवल क्षेत्रलाई अङ्ग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि तानसेनको मध्य भागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्ने छु र भगवतीको महिमा चारैतर्फ फैलाउने छु भनी भाकल गरेका थिए । दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवतीको रथजात्रा निकालेका थिए जुन अद्यापि सञ्चालन हुँदै आएको छ । यो रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ ।

यस वर्षको विजयोत्सव रथजात्रा बिहान ११ः३० बजेको शुभसाइतमा निकालिएको छ । यसवर्षको भगवती जात्रा हेर्न करिब ७० हजारको हाराहारीमा दर्शकले अवलोकन गर्ने अनुमान गरिएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।

विजय जात्रामा पाल्पाका साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायतका क्षेत्रबाट दर्शकको सहभागिता रहेको छ । घरबाहिर रहेका पाल्पालीहरु भगवती जात्राको दिन अनिवार्य रुपमा तानसेन आउने गर्छन् ।