गुल्मीमा पहिलो पटक लाखे महोत्सव

गुल्मी, १७ भदौ । गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रिडीमा पहिलो पटक लाखे महोत्सवको आयोजना गरिएको छ । स्थानीय संस्कृति र परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यले रुरु क्षेत्रमा उक्त महोत्सवको आयोजना गरिएको हो ।
प्रथम लाखे महोत्सव समिति, गुल्मी उद्योग बाणीज्य संघ रिडी शाखा, रिडी बजार ब्यबस्थापन समिति, रुरु फ्रेण्डस् क्लब, जनजाती महासंघ तथा बिभिन्न जातीय संगठनहरुको आयोजनामा जिल्लामै पहिलो पटक उक्त लाखे महोत्सवको आयोजना गरिएको लाखे महोत्सव समितिका अध्यक्ष शुवर्णलाल कक्षपतिले वताए । महोत्सव हेर्नका लागि जिल्लाका बिभिन्न गाविसवाट आएका मानिसहरुको बाक्लो उपस्थीति रहेको थियो ।  महोत्सवमा जिल्लाका बिभिन्न स्थानका गरि १४ टीमहरुको सहभागिता थियो ।  महोत्सवमा बिभिन्न समुहहरुले आ–आफ्नो संस्कृति अनुसार रिडी बजारमा आफ्नो कला प्रदर्शन गरेका थिए ।
धर्मिक स्थल रुरु स्थित रिडीको भक्तेनी टोलबाट सांस्कृतिक झाँकीको रुपमा शुरु गरिएको लाखे नाच रिडीको बजार परीक्रमा गर्दै खेलमैदानमा पुगेर महोत्सलाई समापन गरिएको थियो । महोत्सवमा सहभागी वनेका बलेटक्सार, जुभुङ्ग, अंगाहा, जोहाङ्ग, बलचौर, वलेटक्सार, वामी टक्सार, अस्लेवा, अमरअर्बाथोक, कारीकोट, मनभाग, टाहाटिम, फोक्सीङ्ग, दौघा, र रिडी लगायतका टोलीहरुलाई आयोजकले पुरस्कार स्वरुप दशदश हजार रुपैंया प्रदान गरेको थियो । समितिले आगामि वर्ष पनि उक्त महोत्सवलाई निरन्तरता दिने तयारी गरेको स्थानीय सुन्दर कसजुले बताए ।
– जनार्दन घिमिरे