काठमाडौं- नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले पदभार ग्रहण गरेसँगै मातहत प्रहरीलाई निर्देशन दिएका छन् । उनले मातहतका प्रहरी अधिकारीहरुलाई कानून पालनामा नचुक्न र कसैसँग नझुक्न निर्देशन दिएका छन् ।
आईजीपीको पदभार सम्हालेपछि बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा खनालले यस्तो निर्देशन दिएका हुन् । खनालले मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी कुशलतापूर्वक निभाउन निर्देशन दिँदै प्रहरी संगठनको विकासका लागि आफूले पहल गर्ने बताएका छन् ।
उपत्यकाका ३ जिल्ला काठमाडौं, लतिलपुर र भक्तपुरका प्रहरी निरीक्षकभन्दा माथिका दर्जालाई निर्देशन दिंदै खनालले प्रहरी देश र जनताको सुख–दुःखको साथी भएको बताए । दत्तचित्त भएर आफ्नो कर्तव्य निर्वाह गर्न प्रहरीले कसैसँग कानुन विपरीत सम्झौता गर्न नहुने उनले बताएका छन् ।
खनालले आफ्नो नेतृत्वले संगठनलाई नयाँ गति दिने दावी गरेका छन् । यसअघि खनालले आज नै प्रहरी हेडक्वार्टरको अवलोकन समेत गरेका थिए ।






