ताप्लेजुङमा पहिरोमा फसेकालाई उद्धार

landslide nepalताप्लेजुङ, ३ साउन । जिल्लाको विकट गाविस तापेथोक–८ मा पर्ने सोत्लिम गाउँमा झरेको पहिरोमा फसेका सात परिवारलाई प्रहरी र स्थानीयवासीको सक्रियतामा सुरक्षित स्थानमा सारिएको छ ।

शनिबार गएको पहिरोका कारण बीचमा अलपत्र परेका ती परिवारलाई तापेथोक प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रदीप राईको नेतृत्वमा लेलेप र तापेथोकबाट घटनास्थल पुगेको टोलीले स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा सारेको हो ।

विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेका अनुसार सोत्लिमा गाउँकै लामाटार, जौबारी र हेक्कुले भन्ने ठाउँमा बसोवास गरेका उनीहरुलाई आफन्त रहेको ठाँउमा पुर्‍याइएको हो ।

यस्तै ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीका अनुसार पहिरोको बीचमा परेका सात परिवारसहित आसपासको क्षेत्रमा बसोबास गर्ने अन्य घरपरिवार समेत गरी ११ घरपरिवार त्यहाँबाट पहिरोकै कारण विस्थापित हुनुपरेको छ ।