स्कटल्यान्डविरुद्धको दोस्रो खेल वर्षाले प्रभावित

Prithu_Baskota__nepaly_cricket_player_468119210

आर्इसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज साँझ भएको नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाले प्रभावित भएको छ ।

स्कटल्यान्डस्थित ऐरमा जारी प्रतियोगितामा नेपालले दिएको १६८ रनको लक्ष्यका साथ स्कटल्यान्डले जवाफी ब्याटिङ थालेपछि खेल प्रभावित भएको हो । यो समाचार तयार गर्दासम्म स्कटल्यान्डले १ ।४ ओभर ब्याटिङ गर्दै विना नोक्सान १५ रन जोडेको अवस्थामा खेल रोकिएको हो ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पाँच बल खेल्न बाँकी छँदा सबै विकेट गुमाउँदै मात्र १६७ रन बनाउन सक्यो ।

नेपालका लागि शरद भेषवाकरले ३०, अविनाश कर्णले १७, पृथु बाँस्कोटाले १६, ज्ञानेन्द्र मल्लले १६, प्रदीप ऐरीले १६ र कप्तान पारस खड्काले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

गत बुधबार भएको पहिलो खेलमा समेत नेपाल स्कटल्यान्डसँगै तीन रनले पराजित भएको थियो । सो खेलमा पनि पानी परेपछि ३६ ओभरमा छोट्ट्याइएको थियो ।

आठ देश सहभागी उक्त च्याम्पियनसिप सन् २०१९ को इङल्यान्ड र वेल्समा हुने विश्वकपका लागि छनोटको आधार पनि हो । यसबाटै छ टोली दोस्रो चरणमा पुग्नेछन् ।

जारी प्रतियोगितामा नेदरल्यान्डस् ४ अङ्कका साथ लिगको शीर्ष स्थानमा तथा हङकङ, केन्या, स्कटल्यान्ड, युएई र नामिबियाले समान दुई दुई अङ्क जोड्दै लिगको क्रमशः तेस्रो, चौथो, पाँचाँै र छैटाँै स्थानमा छन् । त्यस्तै नेपाल साताँै र पपुवा न्युगिनी आठौँ स्थानमा छन् । दुवै टोली अङ्कविहीन छन् ।

आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुमा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा नेपाल उक्त प्रतियोगिताका लागि छानिएको हो । त्यतिबेला नेपाल चौथो स्थानमा थियो । नेदरल्यान्डस् पहिलो, नामिबिया दोस्रो र केन्या तेस्रो भएका थिए ।