काठमाडौँ, १५ साउन । संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट दिइएका सुझावलाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई सकेसम्म आजै प्रमुख दलका शीर्ष नेता रहनुभएको विशेष समितिमा टुङ्ग्याउने गरी छलफल भइरहेको छ । संवैधानिक–राजनीतिक संवाद समितिका सभापति डा बाबुराम भट्टराई संयोजक रहनुभएको उक्त समितिको आजको बैठकमा मस्यौदामा नागरिकले दिएको समग्र सुझावमाथि दलगत धारणा प्रस्तुत गरिएको थियो ।
सिंहदरबारस्थित संविधानसभा सचिवालयमा बिहान १०ः३० बजेदेखि अपराह्न ४ः३० सम्म समितिको बैठक चलेको थियो । बैठकबाट बाहिरिने क्रममा समितिका संयोजक डा भट्टराईले जनताका सुझावमाथि केन्द्रित रहेर सबैपक्षबाट एकसरो आफ्ना धारणा राख्ने र सुन्ने काम भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सहमतिको बिन्दु खोज्ने काम भइरहेको छ । प्राप्त भएका सुझावलाई वर्गीकरण गरी उपयुक्त राय प्रस्तुत गर्न समितिले केही सदस्यको सहयोग लिइरहेको छ । बेलुकीसम्म सुझाव सम्बोधन गर्ने काम सक्ने प्रयास हुनेछ ।”
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मस्यौदाको शिरदेखि पुच्छरसम्म आएका समग्र सुझावलाई केन्द्रित गरेर धारणा राख्ने काम भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “धेरै कुरामा सहमति नजिकै छौँ, जनता र समुदायबाट आएका कुरालाई विचार गर्नुपर्छ भन्ने भएको छ, तर पनि धर्म र प्रदेशको सीमा निर्धारण गर्नेजस्ता विषय निकै गम्भीर छन् ।”
बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
उहाँहरुलाई सहयोग पु¥याउन सहयोगी कार्यदलको रुपमा सभासद्हरु भीम रावल, रमेश लेखक, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, अग्नि खरेल, जीतेन्द्र नारायण देव, प्रेमबहादुर सिह र रेखा शर्मा सहितको टोलीले सहयोग पु¥याइरहेको छ । विशेष समितिको अर्काे बैठक आजै ६ः३० बजे पुनः बस्ने संयोजक डा भट्टराईले जानकारी दिनुभयो ।
जनताको सुझाव आजै टुंगो लगाइने






