ओलीको प्रस्ताव पारित

Chairman of CPN (UML) KP Sharma Oli delivers remarks during a program organize on the occasion of the 37th memorial day of the founder general secretary of the Communist Party of Nepal Pushpa Lal Shrestha held on Thursday at Kritipur. Photo: Kumar Shrestha, RSS

काठमाडौं, १३ साउन । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ‘संविधान निर्माणलाई निष्कर्षमा पु-याउने सम्बन्धमा नेकपा (एमाले)को विशेष प्रस्ताव’लाई सुझावसहित सर्वसम्मतिले पारित गर्दै एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक सम्पन्न भएको छ ।
प्रस्तावमा १६बुँदे सहमतिका आधारमा निर्माण भएको संविधानको प्रारम्भिक मस्यौदा आधारभूत रूपमा लोकतान्त्रिक, अग्रगामी एवम् राष्ट्र र जनताको हितमा रहेको तर विद्यमान शक्ति सन्तुलनलाई हेरेर कतिपय विषयमा सम्झौता गर्नुपरेका कारण त्यसमा कमजोरी रहेको उल्लेख छ । बैठकपछि एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा मस्यौदामाथि रायसुझाव दिने क्रममा देखिएको जनताको व्यापक सहभागितालाई उत्साहप्रद र सकारात्मक रुपमा विश्लेषण गर्दै जनताले छिटोभन्दा छिटो संविधान चाहेको र त्यसमा आफ्नो भावना प्रतिविम्बन होस् भन्ने चाहेको कुरा प्रस्तावमा रहेको जनाइएको छ ।
“संविधान बन्न नदिन भइरहेको दृष्यअदृष्य अनेकौँ गतिविधिप्रति पार्टी सजग छ, सबै बाधालाई पन्छाउँदै संविधान जारी गर्न र आन्दोलनका उपलब्धिलाई रक्षा गर्न एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेकपा (एमाले)ले खेलिरहेको यस जिम्मेवार भूमिकालाई अवमूल्यन गर्दै कतिपय व्यक्तिबाट ‘एमालेलाई प्रधानमन्त्री बन्ने हतारो’ भनेर गरिएको टिप्पणीलाई बैठकले खारेज गरेको छ ’ विज्ञप्तिमा भनिएको छ ।
बैठकले भूकम्पपीडितको उद्धार र राहतको संयोजन गर्न संयोजनकारी भूमिका खेलेकामा ‘भूकम्पपीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समिति’ र उत्कृष्ट ढङ्गले स्वयंसेवक परिचालन गरी पार्टीको प्रतिष्ठा बढाउन तथा जनताको मन जित्न सफल भएकामा ‘राष्ट्रिय स्वयंसेवक परिचालन समिति’लाई धन्यवादसहित विघटन गरेको छ । बैठकले केन्द्रीय आर्थिक विभागका प्रमुख विष्णु रिमालले प्रस्तुत गरेको पार्टीको वार्षिक बजेटसम्बन्धी नीतिगत प्रस्ताव अनुमोदन गर्नाका साथै केन्द्रीय सदस्यबाट प्राप्त सुझावका आधारमा नियमावलीलाई अन्तिम रूप दिनेलगायत अन्य विषय टुङ्ग््याउने जिम्मा स्थायी कमिटीलाई प्रदान गरेको छ ।
लिपुलेकबारे वार्ता गर्न आग्रह
मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नेपाली भूमि अतिक्रमण हुन नदिन एवम् राज्यको भूमि अक्षुण्ण राख्ने कुराप्रति दृढ रहेको र प्राप्त ऐतिहासिक प्रमाण, नक्सा र विगतका सहमतिका आधारमा लिपुलेकका विषयमा दुवै देशसँग गम्भीर वार्ता गर्न र कूटनीतिक पहलका माध्यमबाट सो विषयको समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । बैठकले उच्च रक्तचापका कारण अस्वस्थ हुनुभएका पार्टी नेता माधवकुमार नेपालको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।