प्रदेश सांसद छान्दाछान्दै पेरिसडाँडामा धक्कामुक्की !

काठमाडौं -प्रदेश सांसद छान्न बसेको माओवादी केन्द्रको वैठकमा तनाव भएको छ ।

प्रदेश नम्वर ३ का सांसदको अन्तिम टुंगो लगाउन जुटेका नेताहरुवीच विवाद भएको थियो ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी ३ नम्बर प्रदेश ईन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदी र असन्तुष्ट कार्यकताबीच हात हालाहाल भएको हो ।
सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली र नेताद्धय शाक्य र सुवेदीबीच शुक्रवार दिउँसो पेरिसडाँडास्थित मजदुर कार्यालयको छतमा धक्कामुक्की भएको माओवादी केन्द्रीय कार्यलयमा कार्यरत एक कर्मचारीले बताए ।

प्रदेश सभाका समानुपाति संसद चयनमा नेताहरुले आफन्तलाई प्राथमिकतामा राखेपछि तनाव भएको बताइएको छ ।

नेता हिमालले विवाद भएको पुष्टी गर्दै समाचार दैनिक अनलाइनसँग भनेका छन्, ‘सवै मापदण्ड पुगेको, एक नम्बरमा रहेको मेरो नाम काटेर प्रदेशका ईन्चार्ज र संयोजकले आफ्ना आफन्तलाई समानुपातिक सांसद बनाउन खोजेपछि मैले उनिहरुसंग जवाफ मागेको हो, ‘जिल्ला नेता हिमालले भने, ‘त्यस क्रममा धकेलाधकेल पनि भयो ।’

तीन नम्बर प्रदेशको समानुपातिक सूचीमा संयोजक सुवेदीको छोरी भावना सुवेदी पनि सांसद भएकी छिन् । ३ नम्बर क्षेत्रबाटै समानुपातिक सूचीमा परेका आङ्देण्डी लामाको विषयमा पनि विवाद भएको बताइएको छ ।

माओवादीले ३ नम्वर प्रदेशमा ८ सांसद पाएको छ । जसमा दिनेश महर्जन, आङदेन्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कंचन खनाल छन् ।