लण्डनमा भूतपूर्व गोर्खाले फेरी प्रदर्शन गर्ने

लण्डन । भूतपूर्व  गोरखा सैनिकहरुका विभिन्न १० वटा संस्थाहरुले अगष्ट १९ तारिखमा बेलायतको राजधानी लण्डनमा प्रदर्शन गर्ने भएका छन् ।

ती संस्थाहरुको सोमबार बसेको बैठकको निणर्य बमोजिम भूतपूर्व गोर्खाहरुका समस्या समाधानका लागि नेपाल सरकार र बेलायत सरकारबीच हुने भनिएको वार्तामा ढिलाई भएको भन्दै प्रदर्शन गर्न लागिएको धन गुरुङले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

यो दबाबमूलक कार्यक्रम रहेको र अझै सशक्त कार्यक्रमहरु यस पछाडी गरिने उनले बताए । उनीहरुले कार्यक्रममा बढीभन्दा बढी मानिस सहभागी गराउन सम्बद्ध सबैलाई आग्रह समेत गरेका छन् । अगष्ट १९ को प्रदर्शन ट्राफालगर स्क्वायरबाट दिनको १ बजे शुरु हुने छ त्यहाँबाट बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटतर्फ बढ्नेछ । त्यसपछि गोरखा सैनिकका नेताहरुले सम्बोधन गर्नेछन् ।

सो दिन लण्डनको भूमिगत रेलमा हडताल भएकाले वैकल्पिक व्यवस्था गर्न पनि आयोजकहरुले अनुरोध गरेका छन् । बैठकले अगष्ट १९ लाई गोरखाहरुको भोकहड्ताल भंग भएको वर्षगाँठका रुपमा पनि मनाउने निणर्य गरेको छ । समानताको माग गर्दै गत वर्ष गोरखा सैनिकहरु ज्ञानराज राई र धनबहादुर गुरुङ तथा गोरखा सैनिककी श्रीमती पुष्पा राना घले आमरण अनसन बसेका थिए ।

गोरखा सैनिकका समस्याका बारेमा दुई देशका प्रतिनिधिबीच वार्ता गर्ने लिखित प्रतिवद्धता पछि अनसन तोडिएको थियो । भर्चुअल बैठकमा गोरखा दुत मेजर जुधबहादुर गुरुङ, गोरखा सत्याग्रहका तर्फबाट होमबहादुर सुनुवार, रामबहादुर राई, अनसनकारीहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घले, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का तर्फबाट नरहाङ राई, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान जेपी, मेजर रिटायर्ड उदयबहादुर गुरुङ र नेपाल भूतपूर्व सैनिक संघ (नेसा) का दिलबहादुर जिसी सहभागी थिए। बैठकले वार्ता अघि नबढेमा अक्टोबर ३ बाट आमरण अनसन शुरु गर्ने बारेमा पनि छलफल गरेका छन् ।