सिड्नीमा लगातार दुई दिन नेपाली समुदायका विशेष कार्यक्रम, एनएएको स्वर्णजयन्ती र सांस्कृतिक भवन अभियान मुख्य आकर्षण

सिड्नी। अस्ट्रेलियामा नेपाली समुदायको पाँच दशक लामो इतिहास, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले सिड्नीमा नोभेम्बर २७ र २८ मा दुई महत्वपूर्ण कार्यक्रम आयोजना हुने भएका छन्। नेपालीज अस्ट्रेलियन एसोसिएसन (एनएए) को ५०औँ स्थापना दिवस तथा ग्रेटर सिड्नी नेपालीज मल्टिकल्चरल सेन्टर (जीएसएनएमसी) को सदस्य सम्मान र कोष सङ्कलन कार्यक्रम लगातार दुई दिन सञ्चालन हुनेछन्।

सन् १९७६ मा स्थापना भएको एनएएले आफ्नो स्थापनाको पाँच दशक पूरा गरेको अवसरमा नोभेम्बर २७ शुक्रबार हर्स्टभिलस्थित माराना हलमा स्वर्णजयन्ती समारोह आयोजना गर्न लागेको हो। साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली कला क्षेत्रमा लामो योगदान दिएका कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल र गायिका शान्तिश्री परियारको प्रस्तुति रहनेछ। कार्यक्रममा प्रख्यात मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। त्यसको भोलिपल्ट, नोभेम्बर २८ शनिबार ग्रेटर सिड्नी नेपालीज मल्टिकल्चरल सेन्टरले वेस्ली कन्फरेन्स सेन्टरमा सदस्य सम्मान तथा कोष सङ्कलन साँझ आयोजना गर्नेछ। साँझ ५ बजेदेखि हुने कार्यक्रममा संस्थाका सदस्य तथा नेपाली समुदायमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ।

नेपाली सांस्कृतिक भवन निर्माणको दीर्घकालीन लक्ष्य

जीएसएनएमसीले ‘जोडौँ, प्रेरित गरौँ र समृद्ध बनौँ’ भन्ने मूल नारासहित सिड्नीमा नेपाली कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक भवन निर्माणको अभियान अघि बढाएको छ। संस्थाको योजनाअनुसार प्रस्तावित भवनमा नेपाली मौलिक वास्तुकला, परम्परा, सांस्कृतिक सामग्री तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रदर्शन गरिनेछ। यसलाई नेपाली समुदायका विवाह, चाडपर्व, सांस्कृतिक उत्सव, सभा, सम्मेलन तथा सामाजिक गतिविधिका लागि साझा स्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

यसका साथै अस्ट्रेलियाका विभिन्न जातजाति र सांस्कृतिक समुदायलाई समेत समेटेर बहुसांस्कृतिक एकता, सहकार्य र आपसी सद्भाव प्रवर्द्धन गर्ने केन्द्रका रूपमा भवनलाई अघि बढाउने संस्थाको परिकल्पना छ। विशेषगरी अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिका तथा युवालाई आफ्नो भाषा, संस्कृति र पुर्खाको पहिचानसँग जोड्न यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। एनएएका सल्लाहकार उमेश पन्तले यी दुवै कार्यक्रमलाई नेपाली समुदायको विगतको योगदान र भविष्यको सम्भावनासँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार एनएएको स्वर्णजयन्तीले पाँच दशकको सामुदायिक यात्रालाई सम्मान गर्नेछ भने जीएसएनएमसीको सांस्कृतिक भवन निर्माण अभियानले भावी पुस्ताका लागि साझा सम्पदा निर्माण गर्ने आधार तयार गर्नेछ।

त्यस्तै, जीएसएनएमसीका अध्यक्ष विष्णु हमालले नेपाली सांस्कृतिक भवन निर्माणको परिकल्पना साकार पार्न समुदायको सामूहिक साथ र सहयोग आवश्यक रहेको बताएका छन्। उनले सिड्नी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई कार्यक्रममा सहभागी भई संस्थाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन्। लगातार दुई दिन आयोजना हुने यी कार्यक्रमले नेपाली समुदायको ऐतिहासिक योगदानको सम्मान गर्नुका साथै संस्कृति, पहिचान र सामुदायिक एकतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने प्रयासलाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *