सर्लाही–४ का उम्मेदवारको उम्मेदवारी नै खारेज, कस्लाई हाल्ने भोट ?

काठमाडौं- सर्लाही–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ ।

आयोगको निर्णय सदर भएसँगै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवले निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । उनको उम्मेदवारीलाई लिएर बुधबार सर्वोच्चमा छलफल भएको थियो।

आयोग र निवेदक यादवको सुनुवाइपछि न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने निर्णय दिएको हो ।

यादवले उम्मेदवार हुन नपाउने भएपछि उक्त क्षेत्रमा वाम गठबन्धनको उम्मेदवारी रिक्त भएको छ। ‘विवादित विषयको अन्तिम सुनुवाइ हुँदा निरुपण हुने, भन्दै सर्वोच्चले तत्काललाई आयोगको निर्णय रोक्नु नपर्ने आदेश दिएको हो ।

विशेष अदालतले यादव सभासद् रहेका बेला कूटनीतिक राहदानी हेरफेर गरी अनधिकृत रूपमा अर्को व्यक्तिलाई विदेश पठाएको अभियोगमा सजाय ठहर गरेको थियो । विशेषबाट यादवलाई कूटनीतिक राहदानी दुरुपयोग अभियोगमा चार महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको छ । विशेषको फैसलाविरुद्ध यादवले सर्वोच्चमै पुनरावेदन दिएका छन् ।