एनबीसी यूकेले लन्डनको ट्राफल्गर स्क्वायरमा बाढीपीडितको सम्झनामा सेप्टेम्बर २७ मा क्यान्डललाइट बाल्ने

लन्डन— नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीका पीडितहरूको सम्झनामा एनबीसी–यूकेले लन्डनको ट्राफल्गर स्क्वायरमा क्यान्डललाइट भिजिल आयोजना गर्ने भएको छ। कार्यक्रम आइतबार, सेप्टेम्बर २७ तारिख दिउँसो २ बजेदेखि सुरु हुनेछ।

उक्त स्मृतिसभामा कूटनीतिज्ञ, बेलायतस्थित विभिन्न संघ–संस्था प्रतिनिधि, नेपाली समुदायका सदस्यहरू तथा सर्वसाधारणको सहभागिता रहनेछ। कार्यक्रमले बाढीका कारण ज्यान गुमाउनेहरूको सम्झना गर्दै शोक, एकता र सहकार्यको भावना प्रकट गर्ने उद्देश्य राखेको छ।

नेपालमा हालै आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै धेरै परिवारहरू गम्भीर मानवीय संकटमा परेका छन्। यसै सन्दर्भमा यूकेमा बसोबास गर्ने नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्ने र पीडित परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एनबीसी–यूकेका अध्यक्ष समिरनाथ प्याकुरेलले जानकारी दिएका छन्।

कार्यक्रममा विद्युतीय मैनबत्ती लिएर सबैलाई सहभागी हुन अनुरोध गरिएको छ। विद्युतीय मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्ने तथा एक मिनेट मौन धारण गर्ने कार्यक्रम समेत रहेको छ।

आयोजक एनबीसी–यूकेले कूटनीतिज्ञ, समुदायका अगुवा, संघ–संस्था तथा सर्वसाधारणको उपस्थिति यस दुःखद घटनाप्रति एकताबद्ध प्रतिक्रिया हुने विश्वास व्यक्त गरेको छ।

एनबीसी–यूकेका सचिव दामोदर आचार्यका अनुसार, बेलायतभर रहेका नेपाली समुदाय र नेपालका शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागी भई दिवंगत आत्माप्रति श्रद्धा र समर्थन जनाउन आग्रह गरिएको छ।

प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा परेको यस प्राकृतिक विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्न यो कार्यक्रम आयोजना गरेका हुन् । यस दीप प्रज्वलन कार्यक्रममा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्न बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई आह्वान गरिएको छ ।

गत अगस्ट २६ मा रसुवा र आसपासका क्षेत्रमा आएको भयानक बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको थियो ।

कार्यक्रम विवरण:
स्थान: ट्राफल्गर स्क्वायर, लन्डन
मिति: आइतबार, २७ सेप्टेम्बर
समय: दिउँसो २ बजेदेखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *