प्रवासबाट नेपाली संगीतको प्रवर्द्धन गर्दै जेनिशा, ‘फूल फुल्यो केशरी’ सार्वजनिक

सिड्नी । लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाउँदै नेपाली गीत–संगीतमा निरन्तर सक्रिय गायिका, कलाकार तथा सर्जक जेनिशा गौतमको नयाँ गीत ‘फूल फुल्यो केशरी’ को म्युजिक भिडियो शुक्रबार सिड्नीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

सिड्नीको अबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा आयोजित कार्यक्रममा चलचित्र निर्देशक शोभित बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा एनएसडब्ल्यू नारी निकुञ्जकी संयोजक आशा श्रेष्ठ, समाजसेवी मीना गुप्ता लगायत सामाजिक, सांस्कृतिक तथा सञ्चार क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रवासमा बसेर नेपाली कला, भाषा, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा कलाकारहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै जेनिशा गौतमले नेपाली कला क्षेत्रमार्फत समुदायमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले जेनिशाले गायन, अभिनय, लेखन तथा निर्देशनमार्फत नेपाली कला संस्कृतिलाई प्रवर्द्धन गर्न निरन्तर प्रयास गर्दै आएको बताएका थिए।

कार्यक्रममा बोल्दै जेनिशा गौतमले म्युजिक भिडियो निर्माण तथा सार्वजनिक कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अतिथि, शुभेच्छुक, प्रायोजक, सञ्चारकर्मी, कलाकार तथा नेपाली समुदायप्रति आभार व्यक्त गरेकी थिइन्। उनले प्रवासमा रहेर पनि नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ निरन्तर सिर्जनात्मक कार्यमा सक्रिय रहेको बताइन् ।

‘फूल फुल्यो केशरी’ गीतमा जेनिशा गौतम र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको स्वर रहेको छ। गीतको संगीत संयोजन उदयराजले गरेका हुन्। यस परियोजनामा जेनिशा गौतमले गायिका, गीतकार, संगीतकार, अभिनेत्री तथा निर्देशकको भूमिका एकसाथ निर्वाह गरेकी छन्।म्युजिक भिडियोमा दीपेन भण्डारी मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायांकन ओम गोर्खालीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

कार्यक्रमका वक्ताहरूले ‘फूल फुल्यो केशरी’ केवल एउटा सांगीतिक प्रस्तुति मात्र नभई प्रवासमा रहेर नेपाली कला, भाषा र संस्कृतिलाई जीवन्त राख्ने प्रयासको सशक्त अभिव्यक्ति भएको बताएका थिए। उनीहरूले जेनिशा गौतमको आगामी सांगीतिक तथा सिर्जनात्मक यात्राको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए।कार्यक्रमको सञ्चालन कलाकार मुकुन्द तिमिल्सिनाले गरेका थिए भने कार्यक्रममा विभिन्न नेपाली सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *