लन्डन । पासा पुचः गुथि यूकेले तेश्रो लन्डन बिस्का जात्रा आउंदो १९ अप्रिल आइतबार डाटफोर्डस्थित ओपन एयर थिएटर सेन्ट्रल पार्कमा गर्नेभएको छ ।व्यापक तयारीका साथ तेश्रो लन्डन बिस्का जात्रा गर्न लागिएको हो ।
उक्त जात्रा संयोजनको जिम्मा पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्केलाई दिइएको छ ।
संयोजक सुरोज मास्केले जात्रामा भैरव र भद्रकालीको रथ तान्ने र योसिंद्यो (लिंगो) उठाइने जनाए । यसपटक मुख्य आकर्षणमा पहिलोपटक मध्यपुरको मौलिक सिन्दुर जात्रा पनि गरिने पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापतिले जानकारी दिए ।
अध्यक्ष प्रजापतिले दिउसो १२ देखि सांझ ६ बजेसम्म सञ्चालन हुने जात्रामा भैरवको रथ परिक्रमा, खः जात्रा, विभिन्न खाना स्टल, नेपाली सामानका व्यापारिक स्टलहरु, विविध सांस्कृतिक कार्यक्रमसंगै दिनभर सांस्कृतिक मनोरञ्जन हुने जनाए । उनले विगत जस्तै यस संस्करणमा समेत सहभागी भएर कार्यक्रम सफल बनाइदिन सबैमा निमन्त्रणा एवं अपिल गरेका छन् ।
सिन्दुर जात्राका लागि गुथिका चारवटै शाखाले एक एक वटा खः (कांधमा बोक्ने रथ) ल्याउने भएका छन् ।
ति शाखाहरुले धिमे, ढाः, खीं र बांसुरी बाजाको टोली पनि ल्याउने तय भएको छ । आयोजकका अनुसार, जात्रामा यूकेका विभिन्न ठाउंका १० वटा मौलिक नेवारी बाजा समूहले समेत भाग लिनेछन् ।
आयोजकले जात्राका लागि नेपालबाट पनि केही विशेष अतिथी निम्त्याउने जनाएका छन् । जात्रा हेर्न दुई हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको छ ।






