लण्डन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन बेलायतको मिडल्याण्डमा नेपाली कांग्रेसको बृहत भेला भएको छ।
नेपाली कांग्रेसको विदेश स्थिति भातृ संगठन नेपाली जनसम्पर्क समिति युके मिडल्याण्ड क्षेत्रले हिजो मिडल्याण्डको लेस्टरमा नेपाली कांग्रेसका शुभचिन्तक सहितको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
नेपाली कांग्रेसमा विशेष महाअधिवेशनबाट युवा नेता गगन कुमार थापा नेतृत्वमा आईसकेपछिको अवस्था र आगामी संघीय निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने सम्वन्धमा सहभागीहरूले आफ्नो विचारहरू राखेका थिए ।
नेपाली जनसम्पर्क समिति मिडल्याण्डका सभापति नारायण आचार्यको सभापतित्यमा सम्पन्न उक्त अन्तरक्रियामा सहभागिहरूले नेपाली कांग्रेसमा सभापति गगन थापा आईसकेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरू, शुभचिन्तक एवं आम नागरिकमा उत्साह देखिएको बताएका थिए ।
आगामी सरकार नेपाली कांग्रेसका सभापति गगन थापा कै नेतृत्वमा बनेमा मात्र देशमा बिभिन्न समस्याहरूको समाधान हुने भन्दै नेपाली जनसम्पर्क समिति एवं विदेशमा भएका सम्पूर्ण नेपाली कांग्रेसका शुभचिन्तकहरूलाई नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन आर्थिक एवं नैतिक समर्थन गर्न नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रको उक्त भेलाले हार्दिक अपिल पनि गरेको छ ।
साथै भेलाले नेपाली कांग्रेसको घोषणापत्रमा गैर आवाशीय नेपालीहरूको वंशजको नागरिकताको निरन्तरता एवं गैर अवाशीय नेपाली नागरिकता लिएकाहरूले नेपालको संविधान अनुसार सम्पूर्ण हक अधिकारको उपयोग गर्न पाउनु पर्ने सुनिश्चिताको लागि अनुरोध पनि गरेको छ।
भेलामा नेपाली जनसम्पर्क समिति मिडल्याण्डका पूर्व सभापति एवं एनआरएन अभियन्ता दयानिधि सापकोटा, समाजसेवी एवं व्यवसायी कमल भण्डारी, एनपीसीसी युकेका पूर्व महामंत्री केशव भण्डारी, नेपाली जनसम्पर्क समिति विश्व संजाल युरोपका सभापति शेखर कंडेल , एनपासीसी युके मिडल्याणका सल्लाहाकार राजेश मणि लामिछाने ,शशांक शर्मा , एनपीसीसी मिडल्याण्डका सदस्य उत्सभ कंडेल, एनपासीसी युकेका पूर्व महामंत्री गुन्जेश्वर न्यौपाने , नेपाली कांग्रेस समर्थक व्यवसायी सुरेस केसी एवं भीम खनाल, नेपाली कांगेसमा आस्थावान गंगा कंडेल, निरन्जन सेढाई, ईश्वरी कंडेल, कृष्ण कंडेल, डिआर पराजुली, वृहस्पति कंडेल लगायतले अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा र सुझाव राख्नु भएको थियो ।
उक्त भेलामा हिजो विविध कारणले नेपाली कांग्रेसलाई छोडेर रास्वपामा जानु भएका लेस्टर निवासी कृष्ण कंडेलले नेपाली कांग्रेसमा आएको रूपांतरणका कारण आफू पुनः नेपाल कांग्रेस फर्किएको घोषणा पनि गर्नु भएको छ ।
कार्यक्रम गर्न भेन्यु प्रदान गर्नु भएकोमा अभतार रेश्टुरेन्टका समाजसेवी व्यवसायी सुरेश केसीलाई नेपाली जनसम्पर्क समिति मिडल्याणले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।






