रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी चयन

सिड्नी । सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले नयाँ नेतृत्व चयन गरेको छ। आइतबार सम्पन्न छैटौँ अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि रञ्जिता अधिकारी भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुचना पाण्डे र प्रदीप पन्थी चयन भएका छन् भने महासचिवमा कमल चापागाई, सचिवमा योगेश पराजुली र कोषाध्यक्षमा संयोगकुमार गौतम चयन भएका छन्। महिला संयोजकमा गायत्री पौड्याल तथा आईटी संयोजकमा सरोज पाण्डे चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा पदम अधिकारी, राजु खनाल, बविता ज्ञवाली, यादव गैरे, सविना बश्याल, शंकर शर्मा, आस्मा चापागाई, स्वदेश जयसवाल, नारायण घिमिरे, जि.एस. पाण्डे, सगुन लामिछाने, राजेन्द्र शर्मा भण्डारी, रिता शर्मा अर्याल र अशोक पंगेनी चयन भएका छन्।अधिवेशनका प्रमुख अतिथि तथा न्यु साउथ वेल्सका अवैतनिक वाणिज्यदूत संजिव शर्माले सञ्जालले च्यारिटी कार्यक्रममार्फत सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको बताएका थिए। यस्ता परोपकारी गतिविधिहरू अन्य संस्थाहरूका लागि पनि प्रेरणादायी बन्न सक्ने उनले उल्लेख गरेका थिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष दिवाकर काफ्लेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोभिड–१९ प्रभावितलाई राहत वितरण, यौन हिंसापीडित बालबालिकालाई सहयोग, क्यान्सर तथा भूकम्पपीडितलाई आर्थिक सहयोग जस्ता गतिविधि सम्पन्न गरिएको जानकारी दिएका थिए। साथै अनाथ आश्रममा रहेका फरक क्षमता भएका तथा सिमान्तकृत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको पनि उनले बताएका थिए।

रक्तदान कार्यक्रम, स्वास्थ्य सामग्री सहयोग, उत्प्रेरणामूलक अभिमुखीकरण, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, हरितालिका तिजमिलनलगायतका सामाजिक गतिविधिमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति उनले आभार व्यक्त गरेका थिए। आगामी दिनमा स्वदेश तथा विदेशका विभिन्न सरोकारवालासँग सहकार्य गर्दै सामाजिक अभियानलाई अझ सशक्त बनाउने लक्ष्य रहेको पनि उनले उल्लेख गरेका थिए।

अधिवेशनमा ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशी, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, पूर्वअध्यक्ष नन्दु गुरुङ, ग्रेटर सिड्नीका अध्यक्ष विष्णु हमाल, एनआरएन न्यु साउथ वेल्सका सचिव प्रताप पन्थी तथा संरक्षकहरू राज खनाल, मुक्तिराम पोखरेल र कृष्ण गैरेलगायतले सञ्जालको योगदानबारे धारणा राखेका थिए।विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक, सञ्चारकर्मी तथा सञ्जालका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको अधिवेशन अध्यक्ष दिवाकर काफ्ले, महासचिव सुचना पाण्डे र सचिव कमल चापागाईको समन्वयमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *