सिड्नीमा श्री योगी नरहरिनाथ हिन्दु विद्यापीठको औपचारिक शुभारम्भ

सिड्नी ।सिड्नीको अर्बनमा स्थापित श्री योगी नरहरिनाथ हिन्दु विद्यापीठको औपचारिक शुभारम्भ वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा सम्पन्न भएको थियो। माघ शुक्ल पक्षको शुभ दिन जनवरी २३, २०२६ शुक्रबार आयोजित विशेष समारोहबीच विद्यापीठको उद्घाटन गरिएको थियो।

सनातन धर्म, संस्कृतिप्रति श्रद्धा अभिवृद्धि गर्दै वैदिक चिन्तनको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यसहित विद्यापीठमा संस्कृत भाषाको अध्ययन औपचारिक रूपमा सुरु गरिएको आयोजक पक्षले जानकारी दिएको थियो। संस्कृत शिक्षामार्फत भावी पुस्तामा वैदिक ज्ञान हस्तान्तरण गर्ने लक्ष्य विद्यापीठले लिएको बताइएको थियो।विद्यापीठका अध्यक्ष नारायण शास्त्रीको अध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रममा श्री सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक १००८ श्री जगन्नाचार्य स्वामी महाराजजी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। समारोहमा उहाँबाट दीप प्रज्वलन तथा ब्यानर वाचन गरी विद्यापीठको औपचारिक उद्घोष गरिएको थियो।

कार्यक्रममा ग्राण्ड प्यालेसका प्रोप्राइटर तथा विद्यापीठका प्रमुख संरक्षक रन्जित साह, साउथ वेस्ट नेपाली कम्युनिटीका अध्यक्ष चतुर्भुज खरेल, महासचिव प्रकाश पौडेल, सदस्य अनुप निरौला, अर्बन पार्क नेपाली समाजकी अध्यक्ष देवी पाण्डे, कलाकार तथा मोडल  जेनिशा गौतम, विद्यापीठका उपाध्यक्ष रामहरी थापा, सदस्यहरू सहनशिला श्रेष्ठ र कुश शर्मा पौडेल, समाजसेवी सम्झना पन्थ, सूर्यप्रसाद रेग्मी लगायतको उपस्थिति रहेको थियो।

शुभारम्भ समारोहमा गुरुजनबाट स्वस्तिवाचन गरिएको थियो भने अन्तर्राष्ट्रिय गायिका जेनिशा गौतम तथा बाल कलाकार अक्षिता तिमल्सिना र आयुस्था तिमल्सिनाबाट सरस्वती वन्दना प्रस्तुत गरिएको थियो। सो अवसरमा बालबालिकालाई अक्षर लेखन (विद्यारम्भ) समेत गराइएको थियो।

शुभकामना मन्तव्यका क्रममा विशिष्ट अतिथि चतुर्भुज खरेलले हिन्दु विद्यापीठ भविष्यमा क्रमशः विश्वविद्यालयको रूपमा विकसित हुने विश्वास व्यक्त गरेका थिए। साथै विद्यापीठको दीर्घकालीन सफलताका लागि सबैको साथ–सहयोग आवश्यक रहेको बताएका थिए। यस्तै, विद्यापीठका प्रमुख संरक्षक रणजीत शाहले विद्यापीठको शुभारम्भप्रति खुशी व्यक्त गर्दै आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका थिए। तत्कालका लागि पठन–पाठनका लागि स्थान उपलब्ध गराइने जानकारी पनि उनले दिएका थिए।

प्रमुख अतिथि १००८ स्वामी जगन्नाचार्य महाराजजीले मन्तव्यका क्रममा संस्कृत भाषालाई विश्वका १५३ भन्दा बढी भाषाको जननी भाषा भएको उल्लेख गरेका थिए। संस्कृत भाषाले विश्वका पाँच सयभन्दा बढी भाषामा प्रभाव पारेको जानकारी दिँदै, संस्कृत कुनै एक समुदाय वा भूगोलमा सीमित नभई विश्वव्यापी रूपमा विस्तार हुनुपर्नेमा जोड दिएका थिए। वैदिक विज्ञानको महत्व आधुनिक विज्ञानभन्दा अझ सान्दर्भिक बन्दै गएको धारणा व्यक्त गर्दै हिमवतखण्ड नेपालबाट संस्कृतको उद्भव भएकाले यसको संरक्षण र प्रचार–प्रसारमा नेपाली समुदायको विशेष जिम्मेवारी रहेको बताएका थिए। साथै अष्ट्रेलियामा रहेका नेपाली समुदायको सोच, लगनशीलता र प्रयासको प्रशंसा गर्दै आशिर्वचन दिएका थिए।

कार्यक्रममा विद्यापीठको स्थापना तथा सञ्चालनमा योगदान पुर्‍याउने चतुर्भुज खरेल, प्रकाश पौडेल र अनुप निरौलालाई सम्मान गरिएको थियो।स्वागत मन्तव्यका क्रममा अध्यक्ष नारायण शास्त्रीले हिन्दु संस्कृत विद्यापीठ स्थापना गर्नुको औचित्य र आवश्यकता बारे प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन चेतना नेपाल तथा राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष एवं विद्यापीठका संरक्षक सदस्य इन्द्रप्रसाद ओलीले गरेका थिए।शुभारम्भ कार्यक्रममा श्रद्धालु, बुद्धिजीवी तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *